Skip to content

‘धैर्यलाई कमजोरी नठानियोस्, जबर्जस्ती बाहिर धकेले देशभरका युवासँग नयाँ यात्रा सुरु हुन्छ’ : वीरबहादुर बलायर

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा इतर समूहका नेता वीरबहादुर बलायरले पार्टीभित्रको एकतालाई कमजोर पार्ने गतिविधि भइरहेको आरोप लगाउँदै संयमलाई कमजोरीका रूपमा नलिन चेतावनी दिएका छन् । उनले आफूहरू सिंगो नेपाली कांग्रेसभित्र बलियो एकताका पक्षधर रहेको र अग्रज नेताहरूको सम्मान गर्दै अघि बढ्न चाहेको बताएका छन्। आफ्नो राजनीतिक यात्रा कसैको अनुकम्पाले नभई रगत, पसिना, निष्ठा र सिद्धान्तको राजनीतिबाट यहाँसम्म पुगेको उनको भनाइ छ । बलायरले केही समूहले पार्टीभित्र भ्रम फैलाएर एकताभन्दा विभाजनतर्फ धकेल्ने प्रयास गरिरहेको आरोप लगाए। उनले अहिले पनि आफूहरू संयमित रहेको र आफ्ना कदम पार्टीभित्रै रहेको उल्लेख गर्दै जबर्जस्ती बाहिर धकेल्ने प्रयास भए परिस्थिति बदलिन सक्ने संकेत गरे । “हामी संयम छौं। हाम्रा पाइला अझै घरभित्रै छन्। तर जबर्जस्ती बाहिर धकेल्ने प्रयास भयो भने अग्रज नेताहरूको सम्मान गर्दै देशभरका युवाहरूको साथमा थप बलियो र सशक्त यात्रामा निस्कने क्षमता हामीसँग छ,” उनले भने । बलायरले अन्त्यमा आफ्नो धैर्यतालाई कमजोरीका रूपमा नठान्न पनि सम्बन्धित पक्षलाई चेतावनी दिएका छन्। उनको यो अभिव्यक्ति नेपाली कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद र गुटगत गतिविधिका बीच आएको हो ।

प्रतिक्रिया दिनुहोस्