Skip to content

कांग्रेसभित्रको विवाद चुलिँदा स्थानीय जनप्रतिनिधिको हस्तक्षेप, १६ साउनमा राष्ट्रिय भेला

काठमाडौं – नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद थप पेचिलो बन्दै गएपछि पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूले नेतृत्वमाथि एकताको दबाब सिर्जना गर्न राष्ट्रिय भेला आयोजना गर्ने भएका छन् । १६ साउनमा काठमाडौंमा हुने भेलामा देशभरका नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरूलाई सहभागी गराइने भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको सभापतित्वमा बिहीबार गोकर्ण रिसोर्टमा बसेको नगर प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको हो। बैठकले शुक्रबारदेखि पार्टीका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै पार्टीभित्र देखिएको मतभेद अन्त्य गर्न दबाब दिने निर्णयसमेत गरेको छ। दबाब अभियानको संयोजकमा नेपाल नगरपालिका संघका केन्द्रीय अध्यक्ष तथा धादिङको नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगाना र सहसंयोजकमा गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष तथा हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेलाई चयन गरिएको छ ।

संयोजक ढुंगानाले आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई मध्यनजर गर्दै पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले राष्ट्रिय भेला आयोजना गर्न लागिएको बताए । “जुन पार्टीको कार्यकर्ता भएर यहाँसम्म आइपुग्यौं, त्यो पार्टी जोगाउनु हाम्रो साझा कर्तव्य हो। पार्टीलाई एकताबद्ध बनाउन देशभरका जनप्रतिनिधिलाई काठमाडौं बोलाएर दबाब दिन खोजेका हौं,” उनले भने। उनका अनुसार अभियान कुनै समूह वा गुटको पक्षमा नभई पार्टीको एकताका लागि केन्द्रित हुनेछ। यसक्रममा पार्टी सभापति गगन थापा, पदाधिकारी तथा असन्तुष्ट नेताहरूसँग पनि छलफल गरिने उनले जानकारी दिए। शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले स्थानीय तहका कांग्रेस समर्थक र कार्यकर्ताको भावना पार्टी नफुटोस् भन्ने रहेको भन्दै त्यसकै प्रतिनिधित्व गर्दै दबाब अभियान अघि बढाइएको बताए।

बैठकले सातै प्रदेशमा समन्वयात्मक बैठक गरी राष्ट्रिय भेलामा प्रस्तुत गरिने एजेन्डा तय गर्ने निर्णय पनि गरेको छ । छलफलपछि पार्टी एकताको सम्भावित ‘मिलन बिन्दु’ समेटिएको दस्तावेज सार्वजनिक गर्ने तयारी गरिएको नगर प्रमुख कार्कीले बताए । भेला व्यवस्थापनका लागि गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुखलाई सभाहल व्यवस्थापन, शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीलाई मञ्च तथा जनसम्पर्क, तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जनलाई स्रोत व्यवस्थापन तथा सरोज अधिकारीलाई प्रचारप्रसारको जिम्मेवारी दिइएको छ। बैठकमा सातै प्रदेशका करिब २० जना नगर प्रमुख सहभागी थिए । जनकपुर उपमहानगरपालिकाका नगर प्रमुख मनोज साह, गोदावरी (कैलाली)का वीरेन्द्र भट्ट, तिलागुफाका शंकर उपाध्याय, दोलखाका लवश्री न्यौपाने, विदुरका राजन श्रेष्ठ, हलेसीका विमला राई, भानुका आनन्द त्रिपाठी, रत्ननगरका प्रल्हाद सापकोटा, कीर्तिपुरका कृष्णमान डंगोल, गोदावरी (ललितपुर)का गजेन्द्र महर्जन र मध्यपुर थिमिका सुरेन्द्र श्रेष्ठलगायत सहभागी थिए ।  ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन भने विदेशमा रहेका कारण बैठकमा सहभागी हुन सकेनन्। बैठकले कांग्रेसका तर्फबाट निर्वाचित सबै स्थानीय तहका जनप्रतिनिधिलाई राष्ट्रिय भेलाको आयोजक बनाउने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्