Skip to content

पाकिस्तानको सुरक्षा चौकीमा आत्मघाती हमला, १५ जनाको मृत्यु

काठमाडौँ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको टांक जिल्लामा रहेको सेना र प्रहरीको संयुक्त सुरक्षा चौकीमा भएको आत्मघाती हमलामा १२ सैनिकसहित १५ जनाको मृत्यु भएको छ । हमलापछि सुरक्षा बलले गरेको जवाफी कारबाहीमा १२ जना आक्रमणकारी पनि मारिएका छन् । पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)का अनुसार बिहीबार राति चरमपन्थीहरूले ‘मांझी खेल’ सुरक्षा चौकीमा घुस्ने प्रयास गरेका थिए ।

सुरक्षा बलले उनीहरूको पहिलो प्रयास असफल पारेपछि भागेका आक्रमणकारीलाई पछ्याएर कारबाही गर्दा १२ जना मारिएका थिए । आईएसपीआरका अनुसार प्रारम्भिक आक्रमण असफल भएपछि चरमपन्थीहरूले विस्फोटक पदार्थले भरिएको सवारीसाधन चौकीको पर्खालमा ठोक्काएका थिए  । त्यसपछि भएको शक्तिशाली विस्फोटले चौकी पूर्ण रूपमा ध्वस्त भएको थियो । विस्फोटमा १२ सैनिक, दुई प्रहरी र वन विभागका एक अधिकारीको मृत्यु भएको आईएसपीआरले जनाएको छ ।

बिबिसीका संवाददाता अजीजुल्लाह खानका अनुसार विस्फोटले मांझी खेल चौकी पूर्ण रूपमा नष्ट भएको छ। घाइते सुरक्षाकर्मीहरूलाई तत्काल नजिकका अस्पतालमा भर्ना गरिएको छ । घटनापछि टांक जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्ला प्रशासनले धारा १४४ लागू गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ । आईएसपीआरका अनुसार घटनास्थल आसपासका क्षेत्रमा सुरक्षा बलले खोजी तथा सर्च अभियान जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्