Skip to content

गोकुलेश्वर–झरकाँडा–बोन्तोली–पनेबाँज सडकमा पहिरो जोखिम बढ्दा स्थानीय आक्रोशित

दार्चुला — गोकुलेश्वर–झरकाँडा–बोन्तोली–पनेबाँज सडक खण्डमा निर्माण कार्यका क्रममा जोखिम बढ्दै गएपछि स्थानीयवासीले निर्माण कम्पनी KS Construction र शैल्यशिखर नगरपालिकाका जनप्रतिनिधिप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । स्थानीय कोमल जोशीका अनुसार सडक निर्माणका क्रममा आवश्यक प्राविधिक मापदण्ड पालना नगर्दा तथा जोखिमयुक्त स्थानमा समयमै संरक्षणका उपाय अवलम्बन नगरिँदा पहिरोको खतरा दिनप्रतिदिन बढ्दै गएको छ । वर्षायामसँगै सडक आसपासका बस्ती र यात्रुहरू समेत जोखिममा परेको उनीहरूको भनाइ छ ।

जोशीले निर्माण कम्पनी र नगरपालिकाले समस्या समाधानतर्फ कुनै प्रभावकारी चासो नदिएको आरोप लगाएका छन् । उनीहरूका अनुसार आवश्यक समन्वय, प्राविधिक मूल्याङ्कन तथा जोखिम न्यूनीकरणका उपाय तत्काल अपनाउनुपर्ने भए पनि सम्बन्धित निकायले बेवास्ता गर्दा अवस्था झन् जटिल बन्दै गएको छ । स्थानीयले तत्काल स्थलगत निरीक्षण गरी जोखिमयुक्त क्षेत्रमा पर्खाल निर्माण, पानी निकासको उचित व्यवस्था तथा पहिरो नियन्त्रणका अन्य आवश्यक संरचना निर्माण गर्न माग गरेका छन् । समयमै आवश्यक कदम नचालिए सडक अवरुद्ध हुनुका साथै स्थानीय बस्तीमा समेत ठूलो क्षति पुग्न सक्ने उनीहरूको चेतावनी छ ।

 

प्रतिक्रिया दिनुहोस्