काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हरेक नागरिकले आफ्नो पेसा र व्यवसायमा गर्व गर्नसक्ने वातावरण निर्माण हुनु नै वास्तविक लोकतन्त्र भएको बताएका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र प्रहरी आवास भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
महानिरीक्षक कार्कीले लोकतन्त्र केवल शब्दको उच्चारणमा मात्र सीमित नभई व्यवहारमा चरितार्थ हुनुपर्नेमा जोड दिए । लोकतन्त्र भनेको पटक–पटक सोही शब्द दोहोराउनु मात्र नभएको बरु नागरिकहरूले आफ्ना कर्म र पेसामा गौरव महसुस गर्न पाउनु भएको उनको भनाइ छ । पसले, इलेक्ट्रिसियन, भान्से, लुगा सिलाउने व्यक्ति, प्रहरी वा मजदुर–सबैले आ–आफ्नो काममा आत्मसम्मान पाउनुपर्ने र समाजले उनीहरूको योगदानको कदर गर्नुपर्ने बताए । पेसा वा व्यवसायको आधारमा कोही सानो वा ठुलो नहुने उल्लेख गर्दै उनले लोकतन्त्रमा सबै प्रकारका कर्मलाई धर्म ठानेर सम्मान गरिनुपर्ने बताए। समाजमा व्याप्त विभेदकारी प्रवृत्तिको उनले आलोचना गरे । मानिसको ओहदा हेरेर फरक–फरक व्यवहार गर्ने, कसैलाई सम्मान दिने र कसैलाई तिरस्कार गर्ने प्रवृत्ति कतै पनि स्वीकार्य हुन नसक्ने जिकिर गरे ।
महानिरीक्षक कार्कीले प्रहरी कार्यालयहरूमा सेवा लिन आउने नागरिकलाई समान व्यवहार गरिनुपर्ने र कुनैपनि आधारमा विभेद हुन नहुने कुरामा जोड दिए । उनले नवनिर्मित भवनहरूले सेवाग्राहीको सहजता र प्रहरी कर्मचारीहरूको कार्यसम्पादनमा थप ऊर्जा प्रदान गर्ने विश्वास समेत व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्