काठमाडौँ – देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।
महाशाखाले देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यतया बदली रहने र तराईका भू-भागमा आंशिक बदली रहने जनाएको छ । हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । यस्तै, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थान तथा कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
रातिको समयमा पनि देशभर सामान्यतया बदली रहने जनाइएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ । त्यसैगरी, तराईका थोरै स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा रातिको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्