Skip to content

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी

काठमाडौँ – भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्रीको सिफारिसमा स्वीकृत गरेकी हुन् । राष्ट्रपति भवनद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा प्रल्हाद जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।  जोशीले हाल उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रीका साथै नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन् । धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै करिब एक महिनादेखि नयाँदिल्लीस्थित जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) ले आन्दोलन गर्दै आएको थियो । शनिबार केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्ता सम्पन्न भएपछि सीजेपीले आन्दोलनकारीलाई घर फर्किन अपिल गरेको छ । यस आन्दोलनले गत जुलाई १८ मा नयाँ मोड लिएको थियो। त्यसदिन अनशनमा बसेका सामाजिक अभियन्ता सोनम वाङचुकलाई दिल्ली प्रहरीले जबर्जस्ती उठाएर सफदरजंग अस्पतालमा भर्ना गरेको थियो ।

सोनम वाङचुक र सीजेपीले संसद्को मनसुन अधिवेशन सुरु हुने जुलाई २० मा संसद मार्च गर्ने घोषणा गरेका थिए। तर त्यसअघि नै वाङचुकलाई आन्दोलनस्थलबाट हटाइएपछि जन्तर–मन्तरमा युवाको भीड झन् बढेको थियो ।  जुलाई २० मा वाङचुकबिनै आन्दोलनकारीहरू संसदतर्फ अघि बढ्दा प्रहरीले उनीहरूलाई रोक्न बल प्रयोग गरेको थियो। त्यसक्रममा सुरक्षाकर्मीले धेरै युवामाथि कुटपिट गरेको आरोप लागेको थियो । घटनाका भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएका थिए, जसले यस विषयलाई राष्ट्रिय राजनीतिक मुद्दाको रूप दिएको थियो । त्यसपछि धर्मेन्द्र प्रधानको राजीनामासँगै आन्दोलनकारीमाथि लाठीचार्ज गर्ने प्रहरीमाथि पनि कारबाहीको माग चर्किएको थियो । यही मागलाई समर्थन गर्दै कांग्रेस सांसद तथा विपक्षी दलका नेता राहुल गान्धी अन्य विपक्षी नेतासहित प्रधानमन्त्री निवासबाहिर धर्नामा बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्