Skip to content

नागढुङ्गा सुरुङमार्ग उद्घाटन आज

काठमाडौँ – सुरुङमार्गमा गाडी चलाउने नेपालीको सपना नागढुङ्गा सुरुङमार्गमार्फत पूरा हुँदै छ । मुलुकको भौतिक पूर्वाधारको इतिहासमा ‘सुरुङ युगको प्रस्थानविन्दु’ का रूपमा लिइएको बहुप्रतीक्षित यो सुरुङमार्ग निर्माण सुरु भएको ८० महिनापछि सोमबारदेखि सञ्चालनमा आउँदै छ । नागढुङ्गा सुरुङमार्ग आयोजनाका उपनिर्देशक ई. सञ्जय पन्थीले सोमबार बिहान सुरुङमार्गको उद्घाटनको कार्यक्रम तय भएको जानकारी दिनुभयो । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का केन्द्रीय अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सुरुङमार्गको उद्घाटन गर्नुहुने उहाँले बताउनुभयो । सुरुङमार्ग सुरुमा आपत्कालीन सवारीसाधनका लागि मात्र खुला गरिने स्पष्ट पार्दै उहाँले सुरुङमार्गभित्र अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।

ट्रायल ओपनिङ पिरियड

आयोजनाका उपनिर्देशक पन्थीले उद्घाटन भएको दिनदेखि नै सुरुङमार्गबाट सबै सवारीसाधन सञ्चालनमा आउन नसक्ने बताउँदै तीन महिनासम्म परीक्षणकाल सञ्चालन (ट्रायल ओपनिङ पिरियड) हुने जानकारी दिनुभयो । उहाँले केही दिनसम्म एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधनलाई मात्र सुरुङमार्गबाट आवतजावत गर्न दिई परीक्षणकाल सञ्चालन गरिने बताउनुभयो ।

उपनिर्देशक पन्थीले निर्माणको ठेक्का पाएका जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनालाई सुरुङमार्ग हस्तान्तरण गरिसकेको जानकारी दिनुभयो । निर्माण कम्पनीले हस्तान्तरण गरिसकेपछि अब सुरुङमार्गको सम्पूर्ण जिम्मेवारी आयोजनाको काँधमा आएको उहाँको भनाइ छ ।  आयोजनाको काम सम्झौताभन्दा झन्डै दोब्बर समयमा सम्पन्न भएको छ ।

सम्झौता अनुसार कुल ४२ महिनामा आयोजनाको सम्पूर्ण काम सम्पन्न हुनुपर्नेमा निर्माण सुरु भएको ८० महिनामा आयोजनाको काम सम्पन्न भएको हो । उहाँका अनुसार आयोजना सम्पन्न गर्न कुल २५ अर्ब रुपियाँ खर्च भएको छ । निर्माणमा १७ अर्ब, डलरको भाउ बढ्दा तथा निर्माण सामग्रीको मूल्यवृद्धि हुँदा दुई अर्ब र जग्गा मुआब्जामा छ अर्ब रुपियाँ खर्च भएको पन्थीले बताउनुभयो । यसमा १९ अर्ब जापान सरकारको सहुलियतपूर्ण ऋणको रकम हो । जग्गा मुआब्जाको सम्पूर्ण रकम नेपाल सरकारको हो । यो आयोजनाका लागि कुल ४८० रोपनी जग्गा अधिग्रहण गर्नु परेको उहाँले जानकारी दिनुभयो । यस आयोजना अन्तर्गत मुख्य सुरुङमार्ग २.६८ किलोमिटर (२६८८ मिटर) लामो छ भने आपत्कालीन उद्धारका लागि २.५५ किलोमिटरको छुट्टै सुरुङ निर्माण गरिएको छ । सवारीसाधनको प्रकार हेरेर ६० देखि छ सय रुपियाँसम्म शुल्क तिर्नुपर्ने निर्णय यसअघि नै मन्त्रीपरिषद् बैठकले गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्