Skip to content

सामाजिक सद्‌भाव र राष्ट्रिय एकताका लागि सबै दल एकै ठाउँमा उभिनुपर्छ : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकमा पछिल्ला समय देखिएका घटनाक्रम र सामाजिक सद्भावमा देखिएको चुनौतीप्रति सबै राजनीतिक दल जिम्मेवार बन्नुपर्ने बताएका छन् । आफ्नो पहलमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले साम्प्रदायिक विद्वेष फैलाउने र एक समुदायलाई अर्को समुदायविरुद्ध उक्साउने गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने बताए। यस्ता गतिविधिले देश र समाजलाई गम्भीर क्षति पुर्‍याउने भएकाले सबै राजनीतिक दलहरू साझा धारणा बनाएर अघि बढ्न सहमत भएको उनले जानकारी दिए ।

बैठकको निष्कर्ष सार्वजनिक गर्दै उनले भने, “कुनै पनि साम्प्रदायिक गतिविधि, जसले एउटा समुदायलाई अर्को समुदायप्रति घृणा, द्वेष वा आक्रमण गर्न प्रेरित गर्छ, त्यसले कसैलाई पनि फाइदा गर्दैन। यस्तो अवस्थामा सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिनु आवश्यक छ भन्ने साझा निष्कर्षमा पुगेका छौँ।”

हालै एक युवकको मृत्यु भएको घटनाबारे सोधिएको प्रश्नमा लामिछानेले घटनालाई अत्यन्त गम्भीर रूपमा लिएको बताउँदै सत्यतथ्य बाहिर ल्याउने जिम्मेवारी सुरक्षा निकाय र राज्यको भएको उल्लेख गरे । उनले भने, “घटनाको वास्तविकता बाहिर आउन समय लाग्न सक्छ। अहिले नै अफवाह वा षड्यन्त्रका पछाडि लाग्नु उचित हुँदैन। जिम्मेवार निकायले गर्ने निष्पक्ष अनुसन्धानको पर्खाइमा छौँ।”  लामिछानेले घटनामा संलग्न जोसुकै भए पनि कानुनअनुसार कारबाही हुनुपर्नेमा जोड दिँदै सरकारले छानबिन र न्याय प्रक्रियामा कुनै ढिलाइ गर्न नहुने बताए। साथै, सामाजिक सद्भाव कायम राख्न सबै पक्षले संयमता अपनाउन र तथ्यमा आधारित अभिव्यक्ति दिन पनि उनले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्