Skip to content

पाण्डव हमाल ठकुरीको सामाजिक सद्भावको अपिल : ‘मधेश जलाउने होइन, चम्काउने हो’

काठमाडौं –  नेशनल प्याब्सनका पूर्व अध्यक्ष एवं लहान मेरी चिल्ड्रेन स्कुलका संस्थापक पाण्डव हमाल ठकुरीले देशमा देखिएको पछिल्लो तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र आपसी सहकार्यको पक्षमा उभिन सबैलाई आग्रह गरेका छन्  ।सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले मधेशलाई द्वन्द्व र हिंसाको भूमिमा होइन, विकास, समृद्धि र सहअस्तित्वको केन्द्रका रूपमा अघि बढाउनुपर्ने बताएका छन् । उनले लेखेका छन्, “मधेश जलाउने होइन, चम्काउने हो। धर्म फरक होला, तर रगत एउटै हो। जात फरक होला, तर माटो एउटै हो। लडेर केही पाइँदैन, मिलेर मात्र देश र समाज बन्छ।” ठकुरीले राष्ट्रिय एकता नै मुलुकको सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै सबै समुदाय, वर्ग र क्षेत्रका नागरिकलाई संयमता अपनाउन आग्रह गरेका छन्। उनले “पहिला देश नेपाल, अनि हामी नेपाली” भन्ने सन्देश दिँदै कुनै पनि विवाद वा असहमति संवाद, सहिष्णुता र आपसी समझदारीबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् । देशका विभिन्न स्थानमा पछिल्ला दिनमा देखिएका तनाव र विरोधका बीच आएको उनको यो सन्देशलाई सामाजिक सद्भाव र राष्ट्रिय एकताको पक्षमा गरिएको अपिलका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्