काठमाडौँ -सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते भएका र उपचारका क्रममा काठमाडौंमा मृत्यु भएका रवीन्द्र मेहताका परिवार र आफन्तसँग गृहमन्त्री सुधन गुरुङले भेटवार्ता गरेका छन् ।
गृहमन्त्री गुरुङले मंगलबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुगेर उनका आफन्तसँग छलफल गरेका हुन् । गृहमन्त्री र पीडित पक्षबीच भएको छलफलमा तत्काल कुनै सहमति हुन सकेन । मृतकका आफन्तले रवीन्द्रका बुवा–आमासँग परामर्श नगरी कुनै पनि सम्झौतापत्रमा हस्ताक्षर गर्न नसकिने अडान राखेका छन् । परिवारका एक सदस्यका अनुसार गृहमन्त्रीले सरकारले गर्न सक्ने सहयोग र माग सम्बोधनका विषयमा आश्वासन दिएका थिए । तर, मृतकका बुवा–आमा गाउँमै रहेकाले उनीहरूसँग छलफल नगरी निर्णय गर्न उचित नहुने भन्दै सम्झौता स्थगित गरिएको हो ।
सरकार र परिवारबीचको संवाद सकारात्मक दिशामा अघि बढेको र भोलि पुनः छलफल गरी सहमतिलाई अन्तिम रूप दिने तयारी रहेको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ । यसैबीच, मृतकका परिवार पोस्टमार्टम गर्न सहमत भएका छन् । परिवारले पोस्टमार्टमका लागि रवीन्द्रको शव अस्पताललाई बुझाएको छ । शव हाल पोस्टमार्टमको तयारीस्वरूप सुरक्षित रूपमा राखिएको छ । छलफलका क्रममा मृतकका अभिभावक गाउँबाट काठमाडौं आएपछि मात्रै दाहसंस्कार गर्ने सहमति भएको स्रोतले जनाएको छ । परिवारका सदस्यहरूले बुधबार बुवा–आमासँग छलफल गरेपछि मात्रै थप निर्णय लिने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्