अमेरिकी कम्पनी स्पेसएक्सको रकेटको टुक्रा बुधबार चन्द्रमामा उच्च गतिमा ठोक्किने भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले रकेटको एउटा ठूलो टुक्रा अमेरिकी समयअनुसार बुधबार बिहान २:३५ बजे (नेपाली समयअनुसार दिउँसो १२:२० बजे) ठोक्किने जनाएको छ । वैज्ञानिकहरूका अनुसार यो ठक्करले चन्द्रमाको सतहमा नयाँ खाडल बनाउने र धुलोको ठूलो मुस्लो उडाउनेछ । यसको अध्ययनले भविष्यका चन्द्र अभियानका लागि महत्त्वपूर्ण जानकारी दिन सक्ने पनि वैज्ञानिकहरूले बताएका छन् । त्यो टुक्राको तौल करिब ४ टन छ । यो चन्द्रमाको पश्चिमी किनारतर्फ रहेको आइन्स्टाइन क्रेटर क्षेत्रमा प्रतिघण्टा करिब ८ हजार ६९० किलोमिटर (५,४०० माइल) को गतिमा ठोक्किने अनुमान छ ।
यो रकेटको भाग जनवरी २०२५ मा स्पेसएक्सको फाल्कन–९ रकेटमार्फत फायरफ्लाइ एयरोस्पेसको ‘ब्लु घोस्ट’ चन्द्र अवतरण यान र जापानको आइस्पेस कम्पनीको अर्को ल्यान्डर प्रक्षेपण गर्दा प्रयोग गरिएको थियो । स्पेसएक्सले यो ठक्कर नियोजित नभएको स्पष्ट पारेको छ । कम्पनीकी नासा विज्ञान तथा ड्रागन कार्यक्रम निर्देशक जुलियाना स्काइम्यानले पत्रकारहरूसँग भनिन्, ‘सौर्य गतिविधि र गुरुत्वाकर्षण शक्तिको संयुक्त प्रभावले यो रकेटको भागलाई चन्द्रमातर्फको मार्गमा पुर्याएको हो।’ सामान्यतया यस्ता रकेटका चरणहरू आफ्नो काम पूरा गरेपछि पृथ्वीको वायुमण्डलमा प्रवेश गरेर जलेर नष्ट हुने वा समुद्रमा खस्ने गर्छन्। तर चन्द्रमातर्फको यो अभियानका लागि बढी ऊर्जा आवश्यक परेकाले दोस्रो चरण पृथ्वीको कक्षाभन्दा बाहिर अन्तरिक्षमै रहेको थियो। इन्धन पनि सकिसकेको हुँदा त्यसलाई नियन्त्रण गर्न सम्भव नभएको स्पेसएक्सले जनाएको छ। यस वर्षको सुरुतिर मात्रै खगोलविद्हरूले यसको टुक्रा अन्ततः चन्द्रमामा पुग्ने निष्कर्ष निकालेका थिए।
अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार यो टुक्रा चन्द्रमामा ठोक्किँदा करिब तीन टन टिएनटी विस्फोट बराबरको ऊर्जा निस्किनेछ। त्यसबाट करिब २७ मिटर चौडा र ५ मिटर गहिरो खाडल बन्न सक्ने अनुमान गरिएको छ। ठक्करबाट उड्ने धुलो र ढुंगाका कण केही किलोमिटरसम्म अन्तरिक्षमा फैलिन सक्ने र टेलिस्कोपबाट केही मिनेटसम्म देख्न सकिने वैज्ञानिकहरूको विश्वास छ। तर ठक्करको चमक भने एक सेकेन्डभन्दा कम समय रहने र नाङ्गो आँखाले देख्न कठिन हुने बताइएको छ। लस आलामोस राष्ट्रिय प्रयोगशालाका वैज्ञानिक बेन्जामिन फर्नान्डोले यो घटनाले भविष्यमा चन्द्रमामा जाने अन्तरिक्ष यात्री र उपकरणमाथि यस्ता ठक्करले कस्तो जोखिम निम्त्याउन सक्छ भन्ने बुझ्न सहयोग पुग्ने बताए। उनले खगोलविदहरूलाई अवलोकनमा सहभागी हुन आग्रह गरेका छन्। नासाको लुनार रिकोनिसेन्स अर्बिटर र दक्षिण कोरियाको दानुरी चन्द्र अर्बिटरले ठक्करअघि र त्यसपछिका तस्बिर खिचेर अध्ययन गर्ने तयारी गरेका छन्। फर्नान्डोका अनुसार दानुरी अर्बिटर ठक्कर हुनुभन्दा करिब दुई मिनेटअघि रकेटको भागको केही किलोमिटर दूरीबाट गुज्रिनेछ।
फायरफ्लाइ एयरोस्पेसको ‘ब्लु घोस्ट’ यही प्रक्षेपणपछि चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने पहिलो निजी अन्तरिक्ष यान बनेको थियो। तर सोही रकेटले बोकेको जापानी कम्पनी आइस्पेसको ल्यान्डर भने अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको थियो। चन्द्रमामा हुने यस्तो अनियन्त्रित ठक्कर दुर्लभ मानिन्छ।यसअघि २०२२ मा चीनको एउटा रकेटको भाग चन्द्रमाको अर्को सतहमा ठोक्किएको थियो। त्यसअघि २००९ मा नासाले एलक्रस एलक्रस अभियानअन्तर्गत चन्द्रमाको दक्षिण ध्रुव नजिक बरफको खोजी गर्न जानाजानी एउटा रकेटको चरण चन्द्रमामा ठोक्काएको थियो। सन् १९७० को दशकमा पनि अपोलो कार्यक्रमका क्रममा नासाले स्याटर्न–५ रकेटका चरणहरू चन्द्रमामा खसालेर भूकम्पीय प्रभावको अध्ययन गरेको थियो।
रुसको लुना–२५ अभियान २०२३ मा नियन्त्रण गुमाएर चन्द्रमामा ठोक्किएको थियो भने भारतको चन्द्रयान–२ र इसराइलको बेरेसिट ल्यान्डर पनि २०१९ मा अवतरणका क्रममा चन्द्रमामा ठोक्किएका थिए। रोयटर्सका अनुसार नासा र स्पेसएक्सले भविष्यमा यस्ता अनियन्त्रित ठक्कर रोक्ने उपायबारे छलफल गरिरहेका छन्। दशकको उत्तरार्धदेखि आर्टेमिस कार्यक्रमअन्तर्गत चन्द्रमामा नियमित मानव अभियान र स्थायी आधार निर्माण गर्ने योजना भएकाले चन्द्रमाको वरिपरि अन्तरिक्ष फोहोरको व्यवस्थापन महत्त्वपूर्ण बन्दै गएको छ। सेवानिवृत्त खगोलभौतिकशास्त्री जोनाथन म्याकडोवेलले एपीसँग भने, ‘यो ठक्कर अहिलेका लागि समस्या होइन। तर भविष्यमा चन्द्रमामा दीर्घकालीन आधारहरू बनेपछि यस्तै अनियन्त्रित रकेटका भागहरू ठूलो चुनौती बन्न सक्छन्। त्यसैले यस्ता रकेटलाई अव्यवस्थित कक्षामा छाड्ने अभ्यास अन्त्य गर्नुपर्छ।’



प्रतिक्रिया दिनुहोस्