Skip to content

भारतमा शेख हसिनाको पत्रकार सम्मेलनले बंगलादेशमा तनाव, पूर्व क्रिकेट कप्तानको घरमा आक्रमण !

काठमाडौँ – बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भारतबाट प्रत्यक्ष रूपमा सञ्चारमाध्यमसँग कुरा गर्न अनुमति दिइएको भन्दै कडा आपत्ति जनाएको छ । बंगलादेशको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त कार्यक्रमले बंगलादेशी राज्य र जनताको अपमान गरेको आरोप लगाएको छ । मन्त्रालयले भनेको छ, ‘उक्त कार्यक्रममार्फत शेख हसिना र उनका सहयोगीहरूले बंगलादेशी राज्य र जनताको उपहास गरेका छन् ।’

बुधबार साँझ दिल्लीमा भर्चुअल पत्रकार सम्मेलन गर्दै हसिनाले पत्रकारका प्रश्नहरूको जवाफ दिएकी थिइन् । यो पछिल्लो दुई वर्षमा उनले पहिलोपटक प्रत्यक्ष रूपमा सञ्चारमाध्यमसँग गरेको संवाद थियो ।

पत्रकार सम्मेलनमा उनले डिसेम्बरसम्म स्वदेश फर्किने बताएकी थिइन् । यद्यपि उनले फर्किने निश्चित मिति भने सार्वजनिक गरिनन् । बंगलादेशको विदेश मन्त्रालयले उक्त कार्यक्रम बंगलादेशमा ‘जुलाई क्रान्तिको दोस्रो वार्षिकोत्सव’ मनाइरहेका बेला भएको भन्दै यसलाई देशको सार्वभौमिकतामाथिको आक्रमण र आन्दोलनका शहीदहरूको अपमानको रूपमा व्याख्या गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बंगलादेश भारतसँग सार्वभौमिक समानता, पारस्परिक सम्मान, एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र राष्ट्रिय मर्यादाका आधारमा रचनात्मक तथा लाभदायक सम्बन्ध कायम राख्न चाहन्छ ।’

मन्त्रालयले सन् २०१३ को प्रत्यर्पण सन्धिअन्तर्गत शेख हसिनालाई फिर्ता पठाउन गरिएको अनुरोधमा भारतबाट अहिलेसम्म कुनै जवाफ नआएको भन्दै असन्तुष्टि जनाएको छ ।

हसनको घरमा आक्रमण !

यसैबीच, भर्चुअल प्रेस सम्मेलनमा पूर्व क्रिकेट कप्तान शाकिब अल हसन सहभागी भएको केही घण्टापछि उनको घरमा पेट्रोल बम आक्रमण भएको दाबी बंगलादेश अवामी लिगले गरेको छ ।

अवामी लिगले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको वक्तव्यमा शाकिबको निवासमा ‘पेट्रोल बम हमला’ भएको उल्लेख गरेको छ । पार्टीले यो घटनालाई आफ्ना कार्यकर्ताविरुद्ध जारी दमन अभियानको उदाहरण भन्दै आलोचना गरेको छ ।

प्रेस सम्मेलनअघि बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी), इस्लामी जमात र नेसनल सिटिजन पार्टी (एनसीपी) ले सञ्चारमाध्यमलाई शेख हसिनाको कार्यक्रमसम्बन्धी समाचार प्रकाशन गरे कानुनी कारबाही गरिने चेतावनी दिइएको आरोप पनि पार्टीले लगाएको छ ।

भारतको प्रतिक्रिया

भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले उक्त प्रेस सम्मेलनसँग भारत सरकारको कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । उनले भने, ‘कार्यक्रम एउटा निजी संस्थाले आयोजना गरेको हो । भारत सरकारको यससँग कुनै सम्बन्ध छैन । त्यहाँ व्यक्त गरिएका विचार वा भनाइलाई भारत सरकारले समर्थन गर्दैन ।’

यसअघि बंगलादेशका अधिकारीहरूले भारतसँग शेख हसिना वा प्रतिबन्धित अवामी लिगसँग सम्बन्धित व्यक्तिहरूले भारतीय भूमिबाट बंगलादेशमा राजनीतिक अस्थिरता फैलाउने गतिविधि गर्न नपाउने सुनिश्चित गर्न आग्रह गरेका थिए ।

शेख हसिनामाथि मुद्दा र प्रतिबन्ध

सन् २०२४ अगस्ट ५ मा सत्ता गुमाएपछि शेख हसिना भारतमा रहँदै आएकी छन् । उनलाई बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मानवताविरुद्ध अपराधको मुद्दामा मृत्युदण्डको फैसला सुनाइसकेको छ ।

अन्तरिम सरकारले अवामी लिगमाथि प्रतिबन्ध लगाएको थियो । निर्वाचन आयोगले पार्टीको दर्ता निलम्बन गरेको कारण यस वर्ष भएको संसदीय निर्वाचनमा पनि उक्त पार्टी सहभागी हुन सकेन ।

बंगलादेशको अदालतले शेख हसिनाका अभिव्यक्ति सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रसारण गर्न रोक लगाएको थियो । सरकारका अधिकारीहरूले उनका बयानसम्बन्धी समाचार प्रकाशन गरे कानुनी कारबाही हुन सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्