काठमाडौँ – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले आफ्ना पुराना भाषण सम्झिँदा अहिले लाज लागेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले चुनावका बेला आफूहरूले ‘नो लाइन, अनलाइन’ भनेर गरेको भाषण स्मरण गरे । ‘आज जनता भात पकाउने ग्यासका लागि दिनभर, रातभरि, मध्यरातसम्म लाइन बसेको दृश्यले मलाई साँच्चिकै लाज लागेको छ,’ उनले भने । ग्यासको अभाव देशैभरि रहेको भन्दै प्रसाईंले प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन भन्ने प्रश्न गरे । ‘मेरो प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्यासको अभाव छ कि छैन ?,’ उनले भने ।
‘कहिलेकाहीँ म कन्फ्युज हुन्छु । मेरै गालामा मेरै चड्कन । मैले चुनावताका गरेका भाषणहरू सम्झिँदा जहाँ हामीले सरकारी कार्यालयहरूमा नो लाइन, रास्वपाको पालामा वन्ली अनलाइन भनेर आफैँले गरेको भाषण सम्झिँदा’ उनले भने, ‘मलाई लाज लाग्छ ।’ यदि कृत्रिम अभाव सिर्जना भएको हो भने किन कारबाही नगरेको भन्दै उनले प्रश्न उठाए । ‘ग्यास ह्वारह्वार्ती आएर पनि कालोबजारी भएको हो भने ति कालोबजारी गर्नेलाई कठोर दण्ड दिन केले रोकेको छ दुईतिहाइको सरकारलाई ?’ प्रसाईंले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्