Skip to content

गगनले शशांकलाई भने- बिपी तपाईंका लागि पिता, हाम्रा लागि भगवान!

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वमहामन्त्री शशांक कोइरालासँग हालै भएको भलाकुसारीका क्रममा बीपी कोइरालाबारे भएको कुराकानी सार्वजनिक गरेका छन्। शनिबार आयोजित श्यामबहादुर कार्की स्मृति कार्यक्रममा बोल्दै सभापति थापाले आफू र शशांकबीच बीपी कोइरालासँगको सम्बन्धका विषयमा कुराकानी भएको बताएका हुन्।

थापाले शशांकका लागि बीपी कोइराला पिता भएको र आफूहरूका लागि भने भगवान र भक्तको जस्तो सम्बन्ध रहेको बताए। ‘शशांक कोइरालासँग एकछिन अस्ति भलाकुसारीका क्रममा मैले बीपीबारे भनेको थिएँ, तपाईंका लागि बीपी कोइराला भनेको पिता हो। तपाईंहरूको सम्बन्ध भनेको बुवा–छोराको हो,’ थापाले भने।

आफूले बीपीलाई प्रत्यक्ष देख्न, भेट्न वा सुन्न नपाएको उल्लेख गर्दै थापाले बीपीप्रतिको आफ्नो सम्बन्ध आस्थामा आधारित रहेको बताए। ‘किनकि मैले देखेकै छैन, भेटेको पनि होइन, न मैले छोएको छु, न मैले छामेको छु, न मैले सुनेको छु। म सानो हुँदैमा बीपी स्वर्गवास हुनुभयो,’ उनले भने। थापाले बीपी कोइरालाको प्रभाव आफ्नो पुस्ताका साथै आफूजस्ता अनगिन्ती मानिसको जीवनमा रहेको बताए। आँखा चिम्म गरेर नेपालको सबैभन्दा विराट व्यक्तित्व सम्झँदा बीपी कोइरालाकै चित्र आउने उनको भनाइ थियो।

‘बीपी कोइरालासँग मेरो कुनै प्रश्नै छैन। प्रश्न नभएको सम्बन्ध भनेको आस्था हो। भगवानसँग के प्रश्न हुन्छ?,’ थापाले भने। यही कुरा आफूले शशांक कोइरालालाई समेत बताएको थापाले उल्लेख गरे। उनका अनुसार शशांकका लागि बीपीसँगको सम्बन्ध पिता–पुत्रको भए पनि आफूहरूका लागि भने भगवान र भक्तको जस्तै सम्बन्ध हो। ‘तपाईंका लागि बीपी पिता, बाउ–छोराको सम्बन्ध, हाम्रा लागि त भगवान र भक्तको जस्तै सम्बन्ध हो। तर भगवान मान्छु भन्दा मान्न पाउँछस्, यो त मेरो हो नि भनेपछि समस्या हुने रहेछ,’ थापाले भने।

थापाको यो अभिव्यक्ति कांग्रेसभित्र संस्थापन र संस्थापनइतर पक्षबीच विवाद चर्किरहेका बेला आएको हो। पूर्वमहामन्त्री शशांक कोइरालाको संयोजकत्वमा संस्थापनइतर पक्षले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरिरहेको छ। यता, कांग्रेस संस्थापन पक्षले पनि शनिबार पदाधिकारी बैठक र आइतबार केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीभित्र देखिएको विशेष महाधिवेशनसम्बन्धी विवादका बीच सर्वोच्च अदालतमा यस विषयमा पुनः सुनुवाइ हुने अवस्था सिर्जना भएको छ।

यससँगै कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्दै गएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्