Skip to content

आजको मौसम : यी स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । सोमबार बिहान कोशी, बागमती,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ ।

काठमाडौंमा पनि बिहानैदेखि पानी परिरहेको छ । पाल्पाको अर्चलेमा पछिल्लो एक घन्टामा २५.४ मिलिमिटर वर्षा भएको छ। अरू स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । पछिल्लो चौबीस घन्टामा सुर्खेतको इतराममा १३५ मिलिमिटर वर्षा मापन भएको छ । कास्कीको लुम्लेमा ९८.६ मिलिमिटर, काठमाडौंको साँखुमा ९३.६ मिलिमिटर, पाल्पाको अर्चलेमा ८१.६ मिलिमिटर वर्षा भएको छ । अरू धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ ।

सोमबार दिउसो देशको हिमाली भू-भागका केही स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।पहाडी भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षा हुने अनुमान छ ।कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही तथा मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई भू-भागको थोरै स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग साथै लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भने भारी वर्षा हुने आकलन छ ।

सोमबार राति हिमाली भू-भागका केही स्थानमा मेधगर्जन चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा मेधगर्जन चट्याङ्ग सहितमध्यमसम्मको वर्षाको सम्भावना छ।

मधेश प्रदेश र कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागका थोरै स्थानमा भारी वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्