Skip to content

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बोगोटा – पश्चिमी कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु काली र मेडेलिन सहरको बिचमा पर्ने चोको क्षेत्रको सान जोसे डेल पाल्मारमा ८२ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पका कारण हालसम्म कम्तीमा १८ जनाको मृत्यु भइसकेको छ । पेरेरा सहरका मेयर मौरिसियो सालाजारले १८ जनाको मृत्यु भएको र अन्य मानिसहरू भत्किएका भवनभित्र पुरिएको जानकारी दिएका छन् । काली सहरमा मात्रै कम्तीमा २० वटा भवन भत्किएका छन् र तीभित्र मानिसहरू च्यापिएको मेयर अलेहान्ड्रो एडरले बताएका छन्। भूकम्पको धक्का देशभरका सहरहरूसहित छिमेकी मुलुक भेनेजुएलासम्म महसुस गरिएको थियो ।

भूकम्पका कारण क्विब्डो, पेरेरा र मनिजालेस लगायतका सहरहरूमा भौतिक क्षति पुगेको छ । सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरूमा भत्किएका भवनहरू र मनिजालेस सहरको ऐतिहासिक क्याथेड्रलममा क्षति पुगेको देखिन्छ। जोखिम र पराकम्पको त्रासका कारण धेरै सहरहरूमा भवन खाली गराइएको छ भने देशका ६ वटा विमानस्थलले आफ्नो उडान सेवा बन्द गरेका छन् ।

चोको क्षेत्रकी गभर्नर नुपिया क्यारोलिना कोर्डोबा-क्युरीले सामाजिक सञ्जाल एक्समा लेख्दै ठुलो भूकम्प गएको र पराकम्पको चिन्ता रहेको बताएकी छन्। उनले क्षेत्रको राजधानी क्विब्डोमा क्षति र मानिसहरू घाइते भएको उल्लेख गर्दै पहिलो आधिकारिक प्रतिवेदन जारी गर्न क्षतिको विवरण संकलन भइरहेको जनाएकी छन् । भर्खरै पदभार ग्रहण गरेका कोलम्बियाका राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाले भूकम्पपछिको आपत्कालीन उद्धार तथा राहतको नेतृत्व आफैँले लिएको घोषणा गरेका छन्। उनले एक्समा लेख्दै भनेका छन्, ‘क्षतिको समन्वय गर्न र प्रभावितहरूलाई सहयोग पुर्‍याउन मैले एकीकृत कमाण्ड पोस्ट स्थापना गर्न आदेश दिएको छु। म आफैँ पेरेरा पुगेर प्रभावितहरूको साथमा उभिनेछौँ।’

प्रतिक्रिया दिनुहोस्