काठमाडौं – श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले धार्मिक स्थलमाथि हुने तोडफोड र आगजनीमा संलग्नलाई कडा कारबाही गर्न ‘कोर्रा लगाउने’ कानुन बनाउन प्रस्ताव गरेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै साम्पाङले पछिल्लो समय मस्जिद, मदरसा, गुम्बा, मन्दिर तथा माङखिमलगायत धार्मिक स्थलमाथि आक्रमण भइरहेको भन्दै सरकार कमजोर भएकै कारण यस्ता घटना दोहोरिएको आरोप लगाए।
‘भर्खरै देशमा थुप्रै मस्जिदमा आगो लगाइयो। मदरसामा आगो लगाइयो। कहिले गुम्बा तोडिन्छन्, मन्दिर भत्काइन्छन्, कहिले माङखिम तोडिन्छन्,’ उनले भने, ‘सरकार कमजोर भएका कारण त्यो हुन्छ। सरकारले कारबाही नै गर्न सक्दैन।’
दोषीलाई पक्राउ गरेर अनुसन्धानका नाममा लामो प्रक्रिया चलाउने र पछि ‘सेटिङ’मा छुटाउने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ थियो। ‘मेरो–तेरो नभनी फटाहाहरूलाई कर्याप झ्याप पारेर हानौँ न कोर्रै कोर्राले। त्यस्तो कानुन बनाऊँ,’ साम्पाङले भने, ‘यही हो कानुन बनाउने ठाउँ। यसो लैजाने, मायाले छानबिन गर्ने, सोधपुछ गर्ने अनि सेटिङमा निस्केर हुन्छ? हुँदैन।’ साम्पाङले मुलुकमा रहेको बेथिति अन्त्य गर्नुपर्ने विषय पनि उठाए। पुस्तौँदेखि नेपालमा बस्दै आएका नागरिकले समेत जग्गाको स्वामित्व प्राप्त गर्न नसकेको भन्दै उनले भूमिसम्बन्धी समस्या समाधानमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए। भूमि सुधारसम्बन्धी व्यवस्थाबारे स्थानीय तहलाई दोष लगाउने गरिएको भन्दै उनले भने, ‘धनीपुर्जा दिन कुन स्थानीय तहले रोक्छ? हामी छौँ। सुकुमबासीले धनीपुर्जा पाएन भन्नेमा नाटक गरेको छ, गीत गाएको छ। दिनुहोस्, भकाभक दिनुहोस्।’
उनले कांग्रेस, एमाले वा नेकपा कसैले पनि धनीपुर्जा वितरण रोक्न नहुने बताए। साम्पाङको सम्बोधनलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले नियमापत्ति जनाइन्। उनले नागरिकलाई ‘कोर्रा लगाउने’ भन्ने अभिव्यक्ति उपयुक्त नभएको भन्दै उक्त शब्द सच्याउन माग गरिन्। ‘कोर्रा लगाउने, यातना दिनुहुन्न भन्ने कानुन ल्याउने व्यक्तिमा म पर्छु। वर्षौं एडभोकेसी गरेको हो,’ रानामगरले भनिन्, ‘जनतालाई कोर्रा लगाउने उपयुक्त शब्द भएन। ती शब्द सुधार्नुपर्यो। रेकर्डबाट हटाउन अनुरोध गर्दछु।’



प्रतिक्रिया दिनुहोस्