Skip to content

रास्वपाको जग कमजोर, संरचना ठूलो बनेको रवि लामिछानेको स्वीकारोक्ति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको जग बलियो हुनुअघि नै संरचना ठूलो बनेको स्वीकार गरेका छन्। उनले पार्टीलाई सुरक्षित र बलियो बनाउन अब आवश्यक टेको दिने तथा अड्याउने जिम्मेवारी आफूहरूको काँधमा रहेको बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले छोटो समयमै रास्वपाले ठूलो राजनीतिक संरचना निर्माण गरेको उल्लेख गरे। पार्टीको संगठन विस्तारभन्दा पहिले नै त्यसको आधार बलियो बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

‘जग बलियो नबनाइकन हामीले स्ट्रक्चर बलियो बनाएर हुँदैन,’ उनले भने, ‘रास्वपाको बलियो स्ट्रक्चरभन्दा पहिले धेरै तल्लाको पार्टी बनेको हो, मैले आज यहाँ स्वीकार्नै पर्छ।’ युवाहरूमा परिवर्तनको तीव्र चाहना र नयाँ राजनीतिक विकल्पको खोजीका कारण रास्वपाले अपेक्षाभन्दा छिटो ठूलो आकार लिएको लामिछानेले बताए। जनताले पार्टीलाई आशा र भरोसाका रूपमा हेरेकाले संरचना निर्माण तीव्र भएको उनको भनाइ थियो। ‘हाम्रो जग बन्नुभन्दा पनि ठूलो र हाम्रो जगले धान्नुभन्दा पनि ठूलो आकारको पार्टी बन्यो कि भनेर म कहिलेकाहीँ सोच्न बाध्य हुन्छु,’ उनले भने, ‘तर बनिसकेपछि यसलाई सुरक्षित ढंगले कहाँबाट टेको दिनुपर्छ, कहाँ-कहाँबाट अड्याउनुपर्छ, त्यसका लागि भने हामी तयार हुनुपर्ने हुन्छ।’

लामिछानेले युवा नेतृत्वका लागि वर्तमान समय परीक्षाको घडी भएको पनि बताए। युवाहरूले अपेक्षित परिणाम दिन नसके समाजमा ‘युवाहरू आलाकाँचा हुन्छन्, अनुभवबिना राजनीति चल्दैन’ भन्ने भाष्य स्थापित हुन सक्ने उनको चेतावनी थियो। यस्तो भाष्यले आगामी पुस्ताका युवालाई नेतृत्वमा आउन रोक्न सक्ने भन्दै उनले युवाहरूले इमानदार कर्म र परिणाममार्फत आफ्नो क्षमता प्रमाणित गर्नुपर्नेमा जोड दिए। ‘हामी इतिहासको यो भारी बोक्न चाहँदैनौँ,’ उनले भने, ‘त्यसैले हामीले इमानदार भएर कर्मबाटै युवाहरू सक्षम छन् भन्ने प्रमाणित गर्नुपर्नेछ।’

सभापति लामिछानेले रास्वपा अब केवल ‘वैकल्पिक शक्ति’ भएर मात्र नपुग्ने भन्दै देशको ‘निर्विकल्प शक्ति’ बन्नुपर्ने बताए। ‘हामी विकल्प खोज्न आएका होइनौँ, आफैँ विकल्प बन्न आएका हौँ,’ उनले भने, ‘यदि हामीले सही बाटो बिरायौँ भने जनताले फेरि अर्को विकल्प खोज्न थाल्नेछन्। त्यसैले हामीले आफूलाई निर्विकल्प प्रमाणित गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्