काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पूर्वसभापति शेरबहादुर देउवाको नाम र व्यक्तित्व दुरुपयोग गरेर पार्टीलाई कमजोर बनाउने खेल भइरहेको आरोप लगाएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा बोल्दै घिमिरेले देउवाको लामो राजनीतिक योगदानको सम्मान गर्नुपर्नेमा जोड दिँदै उनको नाममा आफ्नो राजनीतिक अस्तित्व स्थापित गर्न खोज्नु गलत भएको बताएका हुन्। उपचारका क्रममा विदेशमा रहेका देउवाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घिमिरेले उनलाई केन्द्रमा राखेर भइरहेका गुटगत भेला तथा गतिविधिप्रति आपत्ति जनाए।
देउवाकै नेतृत्वमा विगतमा विभिन्न राजकीय तथा पार्टीगत जिम्मेवारी सम्हालेका नेताहरूले अहिले आफ्नै सामर्थ्यमा कार्यक्रम गर्न नसकेर देउवाको ‘ब्यानर’ खोज्नु राजनीतिक कमजोरी भएको उनको टिप्पणी थियो।
‘तपाईंलाई गोटी बनाएर, तपाईंको काँधमा बन्दुक राखेर र तपाईंको चरम दुरुपयोग गरेर नेपाली कांग्रेसलाई भताभुङ्ग पार्ने प्रयत्न भइरहेको छ,’ घिमिरेले भने, ‘यसप्रति म सतर्क रहन केन्द्रीय कार्यसमितिमा विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। जब आफ्नो केही गर्ने सामर्थ्य र तागत छैन, तब शेरबहादुर दाइलाई मोहरा बनाएर के गर्न खोजिँदैछ ?’
बैठकमा घिमिरेले पार्टीको महाधिवेशन र आन्तरिक सुदृढीकरणको विषयमा समेत धारणा राखे। ४८ दिनसम्म केन्द्रीय समितिको बैठक बस्दा पनि नियमित महाधिवेशनको तयारी अघि बढ्न नसक्नु दुःखद भएको उनले बताए। पार्टीभित्रको विवाद तथा निर्वाचन आयोगको प्रक्रियाका विषयमा स्पष्ट पार्दै घिमिरेले आयोगले दुवै पक्षसँग पर्याप्त छलफल गरेको दाबी गरे। सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको प्रसंगमा उनले निर्वाचन आयोगले दुवै पक्षसँग लगातार छलफल गरेको अडियो तथा भिडियो रेकर्ड सुरक्षित रहेको बताए।
‘सुनुवाइको मौका नपाएको भन्ने आधारमा पुनरावलोकनको अनुमति दिनु तथ्यसँग मेल खाँदैन,’ उनले भने। महामन्त्री घिमिरेले पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको पनि बचाउ गरे। उनीहरूले पार्टी तथा देशका समसामयिक विषयमा स्पष्ट धारणा राख्दै आएको उनको भनाइ थियो। कांग्रेस अब नयाँ नेतृत्व र ऊर्जासहित पुनर्गठनको दिशामा अघि बढेको दाबी गर्दै घिमिरेले पार्टीलाई आधारभूत तहदेखि नै सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस्