काठमाडौं - विशेष अदालतले सम्पत्ति शुद्धीकरणको आरोप लागेका व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा राख्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले बुधबार दुवैजनालाई थुनामा पठाउने आदेश दिएको हो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी पहिलो मुद्दामा यसअघि नै थुनामा रहेका भट्ट र अग्रवाललाई बुधबार अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो। दुवैजनाको बयान तथा थुनछेक बहसपछि अदालतले उनीहरूलाई थुनामा पठाउने आदेश गरेको हो। पूर्वअर्थमन्त्री विष्णु पौडेललाई समेत प्रतिवादी बनाइएको सम्पत्ति शुद्धीकरणसम्बन्धी दोस्रो मुद्दामा भट्ट र अग्रवालविरुद्ध पनि मुद्दा चलाइएको थियो। उक्त मुद्दामा पूर्वअर्थमन्त्री पौडेललाई भने विशेष अदालतले साधारण तारिखमा छाड्न आदेश दिएको छ। तर, सोही मुद्दामा प्रतिवादी रहेका भट्ट र अग्रवाललाई भने थुनामा पठाउने आदेश भएको हो।



प्रतिक्रिया दिनुहोस्