Skip to content

बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आगामी भदौ १ गते सोमबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री बानियाँले सोही दिन दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक बोलाउन हेटौँडास्थित संसद सचिवालयमा पत्राचार गरेका छन्। सरकारमा सहभागी नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका थिए। एमाले र नेकपाले नयाँ सत्ता गठबन्धन गरेर सरकार गठनको तयारी गरे पनि हालसम्म आवश्यक समर्थन पुर्‍याउन सकेका छैनन्।

यस्तो अवस्थामा मुख्यमन्त्री बानियाँले आगामी भदौ ४ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको थियो। सोही अवस्थालाई ध्यानमा राख्दै नेपाली कांग्रेस संसदीय दलको बैठकले भदौ ३ गतेअगावै विश्वासको मत लिने निर्णय गरेको थियो। दलको निर्णय अनुसार मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था मिलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गरेका हुन्।

मुख्यमन्त्री बानियाँलाई सरकार टिकाउन कुल ११० सदस्यीय (१०४ सांसदको उपस्थिति रहने) प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। यद्यपि, उनको पक्षमा हालसम्म कांग्रेसका ३६ र हाम्रो नेपाली पार्टीका २ जना गरी ३८ सांसदको मात्र समर्थन रहेको छ। हाम्रो नेपाली पार्टी बानियाँ नेतृत्वको सरकारमा एक मन्त्रीसहित सहभागी भइसकेको छ। सरकार टिकाउन मुख्यमन्त्री बानियाँलाई थप १५ सांसदको समर्थन आवश्यक देखिन्छ। प्रदेशसभामा २६ सदस्य रहेको नेकपा र २५ सदस्य रहेको एमाले नयाँ गठबन्धनमा रहेका छन्। यस्तै १२ सदस्य रहेको राप्रपाले सरकार गठनमा भूमिका नलिने निर्णय गरेको छ भने ३ सदस्य रहेको नेमकिपा सदाबहार प्रतिपक्षको भूमिकामा रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्