काठमाडौँ – सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार गरिएको छ। शुक्रबार नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का खगराज भट्ट मुख्यमन्त्री बनेका थिए। यससँगै सन्तोष शर्मा थापाको नेतृत्वमा नेकपा एमाले सरकारमा सहभागी भएको छ। एमालेबाट चार सांसद सरकारमा सहभागी भएका हुन् । सन्तोष शर्मा थापा सामाजिक विकास मन्त्री बनेका छन् । चक्र मल्ल आर्थिक मामिला मन्त्री बन्दा दमन भण्डारी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका छन् । यस्तै जानकी बम ऐर आर्थिक मामिला राज्यमन्त्री बनेकी छिन्।
नेकपाबाट भने मन्त्रीको टुङ्गो लागिसकेकाे छैन । नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँसमक्ष नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । दाबी पेस गरे लगत्तै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।यसअघि, संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुख मियाँले बिहीबार बेलुकी आह्वान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्