काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि लागेको भ्रष्टाचारसम्बन्धी आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। गृहमन्त्री सुदन गुरुङले प्रमाणित नहुँदै आईजीपी कार्कीलाई भ्रष्टाचारी भन्न नमिल्ने बताएका बेला सांसद सुनारले आरोप लागिसकेपछि अनुसन्धान अघि बढाउनुपर्ने भन्दै दोषीलाई संरक्षण नगर्न चेतावनी दिएका हुन्। सार्वजनिक लेखा समितिको बैठकमा सुनारले आईजीपी कार्कीमाथि गम्भीर भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल निलम्बन गरी अनुसन्धान अघि बढाउन माग गरेका थिए। त्यसपछि कार्कीमाथिको आरोप र सुनारको मागलाई लिएर राजनीतिक तथा सामाजिक सञ्जालमा बहस सुरु भएको छ।
गृहमन्त्री गुरुङले भने कार्कीलाई सँगै राखेर कसैले आरोप लगाउँदैमा भ्रष्टाचारी भन्न नमिल्ने बताएका थिए। उनले वर्तमान प्रहरी नेतृत्वले सरकारको चाहनाअनुसार काम गरिरहेको भन्दै कार्कीको प्रशंसासमेत गरेका थिए। गृहमन्त्रीको उक्त अभिव्यक्तिप्रति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सुनारले आफूले सार्वजनिक लेखा समितिमा राखेको धारणामा कुनै कमजोरी नरहेको दाबी गरेका छन्। उनले समितिले १५ दिनभित्र आवश्यक कागजात पेस गर्न भनेको उल्लेख गर्दै अनुसन्धान पूरा नहुँदै आरोपित व्यक्तिको पक्षमा फैसला सुनाउने शैली गलत भएको बताएका छन्। ‘समितिले स्पष्ट भनेको छ १५ दिनभित्र सबै कागज पेस गर्न । आवश्यक छानबिन हुन बाँकी छ । कारबाही जारी छ । कोही कसैले पनि आरोपितलाई काखी च्यापेर, केही नभएजसरी अनुसन्धानको क्रममा रहेका व्यक्ति र मुद्दाबारे सिंहदरबारभित्र न्यायाधीश बनेर फैसला गर्दै हिँड्ने हैन,’ उनले भनेका छन्।
सुनारले भ्रष्टाचारको आरोप लागेका व्यक्तिलाई बर्दी लगाएर संसदीय समितिमा गएर प्रवचन दिने छुट नरहेकोसमेत टिप्पणी गरेका छन्। उनले प्रहरीका तल्लो तहका कर्मचारीले भोगिरहेका समस्या उठाउँदै उनीहरूको नाममा आएको बजेटको दुरुपयोग भएको भए त्यसको छानबिन हुनुपर्ने बताएका छन्। आफ्ना छोराछोरी विदेशमा राखेर गरिबका छोराछोरीलाई दुःख दिएको भन्दै उनले आईजीपी कार्कीप्रति थप प्रश्नसमेत उठाएका छन्। सुनारले आफू सांसद मात्र नभई भ्रष्टाचारविरुद्ध आवश्यक परे जीवन नै दाउमा राख्न तयार रहेको बताएका छन्। उनका अनुसार प्रहरी र सशस्त्र प्रहरीविरुद्ध सार्वजनिक लेखा समितिमा परेको उजुरीमाथि छानबिन गर्न खोजिएको हो, कसैलाई कपोलकल्पित आरोप लगाउने उद्देश्य नभएको हो।
‘हामीले कसैमाथि कपोकल्पित आरोप लगाएको हैन, प्रहरी र सशस्त्र प्रहरीविरुद्ध समितिमा परेको उजुरी छानबिन गरौँ भनेको हो,’ सुनारले भनेका छन्। उनले समितिमा उजुरी आएपछि सार्वभौम सांसदको हैसियतले आवश्यक प्रश्न उठाइएको र आगामी दिनमा पनि भ्रष्टाचार तथा अनियमितताका विषयमा प्रश्न उठाइरहने बताएका छन्। सुनारले आफ्नो धारणा सार्वजनिक गर्नुका साथै सार्वजनिक लेखा समितिमा परेको भ्रष्टाचारसम्बन्धी उजुरीसमेत सार्वजनिक गरेका छन्। उनले आफूहरू स्वतन्त्र, निष्पक्ष र व्यावसायिक प्रहरीको पक्षमा रहेको दाबी गरेका छन्।



प्रतिक्रिया दिनुहोस्