दार्चुला – निर्माणाधीन जिल्ला अस्पताल भवनको काममा भइरहेको ढिलाइप्रति भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कडा असन्तुष्टि जनाएका छन्। उनले निर्धारित समयभित्र काम सम्पन्न नगर्ने निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोड्न निर्देशन दिएका छन् ।
जिल्ला अस्पतालमा निर्माणाधीन भवनको स्थलगत निरीक्षण गरी निर्माणको अवस्थाबारे जानकारी लिएपछि मन्त्री लम्सालले लामो समयदेखि काम अलपत्र पार्ने निर्माण व्यवसायीमाथि कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएका हुन्। निर्माण व्यवसायीको लापरबाहीका कारण अस्पताल भवन निर्माणमा अनावश्यक ढिलाइ भएको भन्दै मन्त्री लम्सालले अब थप समय कुर्न नसकिने बताएका छन्। उनले ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाउनुका साथै निर्माण व्यवसायीलाई सार्वजनिक खरिदसम्बन्धी कानुनअनुसार कालोसूचीमा राख्न आवश्यक प्रक्रिया तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। भवन निर्माणमा भएको ढिलाइले अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवामा समेत असर परेको भन्दै उनले निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित कार्यालय तथा सरोकारवाला निकायलाई निर्देशन दिएका छन्। मन्त्रीको निर्देशनपछि निर्माण व्यवसायीमाथि ठेक्का सम्झौता र सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने भएको छ। भवन निर्माणलाई समयमै सम्पन्न गराउन आवश्यक प्रशासनिक तथा कानुनी प्रक्रिया तत्काल अघि बढाइने सम्बन्धित पक्षले जनाएको छ। जिल्ला अस्पताल भवन लामो समयदेखि अलपत्र अवस्थामा रहेकाले निर्माण कार्यलाई गति दिन र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बनाउन स्थानीयले सरकारसँग माग गर्दै आएका थिए। मन्त्रीको पछिल्लो निर्देशनपछि अस्पताल भवन निर्माणले गति लिने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्