Skip to content

दाइजोका कारण अन्याय भए सम्पर्क गर्न उपसभामुख ठाकुरको आग्रह

धनुषा – प्रतिनिधि सभाकी उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोका कारण अन्यायमा परेका व्यक्तिलाई आफूलाई सम्पर्क गर्न आग्रह गरेकी छन् । धनुषाको ढल्केबरमा शनिबार आयोजित नाई सहयोग संस्था नेपालको दोस्रो अधिवेशन तथा चौथो साधारणसभाको उद्घाटन गर्दै उपसभामुख ठाकुरले दाइजो प्रथाविरुद्ध आफूले निरन्तर आवाज उठाउँदै आएको बताइन् । उनले दाइजोका कारण कसैलाई अन्याय भए आफूलाई सम्पर्क गर्न आग्रह गर्दै दाइजो लिएर वा दिएर विवाह गर्ने तथा दाइजोका लागि दबाब दिने कार्य कानुनी रूपमा दण्डनीय भएकाले त्यस्तो कार्य नगर्न सबैलाई आग्रह गरिन् । उपसभामुख ठाकुरले दाइजो प्रथा अन्त्यका लागि सामूहिक पहल आवश्यक रहेको बताइन्। दाइजो प्रथा अन्त्यसँगै ठाकुर समुदायलाई सामाजिक तथा राजनीतिक रूपमा अगाडि बढाउन सबैले एकअर्कालाई सहयोग गर्नुपर्नेमा उनले जोड दिइन् । ‘छोरीलाई दाइजो नभई शिक्षा दिनुहोस्, छोराको विवाह गर्दा दाइजो नलिनुहोस्,’ उनले भनिन्, ‘दाइजो समाजका लागि अभिसाप हो, सबै मिलेर यसको अन्त्य गरौँ।’

छोरी र बुहारीलाई शिक्षित बनाउन तथा पढ्न प्रोत्साहित गर्नुपर्नेमा पनि उनले जोड दिइन् । कार्यक्रममा सिरहा नाई समाजका श्यामकुमार ठाकुरले हजाम समुदायको सामाजिक, आर्थिक, शैक्षिक तथा राजनीतिक उत्थानसँगै राज्यका हरेक निकायमा प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै उपसभामुख ठाकुरलाई मागपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनुहोस्