Skip to content

बालेनलाई धन्यवाद दिँदै मोदीले भने- सम्बन्ध अझ सुदृढ बनाउन प्रतिबद्ध छौं

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई धन्यवाद दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशको सम्बन्ध सुदृढ बनाउनका लागि मिलेर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् । भारतको स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री शाहले शनिबार बिहान मोदीलाई शुभकामना दिएका थिए । उनले सामाजिक सञ्जाल एक्समार्फत दिएको शुभकामना सन्देशमा नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध तथा दुई देशबीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका थिए । प्रधानमन्त्री शाहले भनेका थिए, ‘नेपाल र भारतबीचका गहिरो ऐतिहासिक सम्बन्ध, जनताबीचको निकट सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस्।’

त्यसको जवाफमा भारतीय प्रधानमन्त्री मोदीले शाहलाई धन्यवाद दिएका छन्। उनले दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाउन मिलेर काम गर्ने प्रतिबद्धता जनाएका हुन् । मोदीले भनेका छन्, ‘हामी हाम्रा देशका जनताको आपसी समृद्धि र कल्याणका लागि भारत र नेपालबीचको बहुआयामिक तथा युगौँ पुरानो सभ्यतागत सम्बन्धलाई अझ सुदृढ बनाउन मिलेर काम गर्न प्रतिबद्ध छौँ।’ भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्