Skip to content

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभर आज सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थान तथा मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ । लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भने धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । राति पनि देशभर सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्