काठमाडौँ – नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमास अनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक मान्यता छ । हिन्दु धर्ममा नागलाई विष्णु र शिवका रूपमा मानिन्छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा मान्ने गरिएको हो ।
आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ । आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नाग स्थानमा विशेष रूपमा पूजाआजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार प्रसाद चढाउने गरिन्छ । नाग पञ्चमीसँगै चाडवाडको याम पनि सुरू भएको छ ।



प्रतिक्रिया दिनुहोस्