काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसको आधिकारिकतासम्बन्धी अदालतको फैसला उल्टिए त्यसको राजनीतिक प्रभावबारे गम्भीर प्रश्न उठ्ने बताएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै पौडेलले अदालतले पार्टीको आधिकारिकतासम्बन्धी फैसला उल्टाएमा त्यससँग जोडिएका अन्य राजनीतिक निर्णयको वैधानिकतामाथि पनि प्रश्न उठ्नुपर्ने बताएका हुन् । ‘अदालतले जुन फैसला गर्यो, त्यसको फैसला उल्टाउँदा दुईतिहाइको फैसला पनि उल्टाउनुपर्छ होला नि ?’ उनले प्रश्न गरे ।
सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो । उक्त फैसलाविरुद्ध देउवा पक्षले पुनरावलोकन निवेदन दिएपछि कांग्रेसको आधिकारिकता विवाद पुनः अदालत पुगेको छ । पौडेलले अदालतले आधिकारिकता उल्टाएर थप प्रश्न उठ्ने अवस्था सिर्जना नगर्ने विश्वास व्यक्त गरे। उनले विधानविपरीत एउटा समूहले गरेको भेलाको कुनै अर्थ नरहेको दाबीसमेत गरे ।
पूर्वसभापति शेरबहादुर देउवा पार्टी एकता कायम गर्न तयार भएर आउने आफूहरूको अपेक्षा रहे पनि त्यस्तो संकेत नदेखिएको पौडेलको भनाइ थियो । देउवा पार्टीभित्र ‘रेफ्री’को भूमिकामा आउने अपेक्षा गरिएको भए पनि उनी कुनै एक टिमको जर्सी लगाएर आएको पौडेलले टिप्पणी गरे । पौडेलले देउवामाथि विचारको राजनीति नगरी गुट निर्माणमार्फत शक्ति आर्जन गरेको आरोपसमेत लगाए । कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले पुनरावलोकनको बाटो खोलेसँगै पार्टीभित्रको विवाद थप पेचिलो बनेको छ ।



प्रतिक्रिया दिनुहोस्