Skip to content

रास्वपाको क्यान्डिडेट क्लबमा आवेदन दिएर छनोट भएकाले मात्रै स्थानीय तहको चुनाव लड्न पाउने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न क्यान्डिडेट क्लबमा आवेदन दिएर छनोट हुनुपर्ने बताएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा क्यान्डिडेट क्लबको घोषणा गर्दै लामिछानेले यसअघि विभिन्न ठाउँमा पार्टीका सम्भावित उम्मेदवारका रूपमा चर्चा गरिएका व्यक्तिहरूलाई दिइएका अनौपचारिक आश्वासन अब मान्य नहुने स्पष्ट पारे । उनले कसैले आफूलाई नै उम्मेदवार बनाउने आश्वासन दिएको भए त्यसलाई खारेज गरिएको घोषणा गरे । ‘कतिपय ठाउँमा उम्मेदवार तपाईं हो है भनेर आश्वासन दिनुभयो । बेच्नुभयो, यसको अर्थ पैसामा बेच्नुभयो भन्न खोजेको होइन । यसपटकको मेयरसाप तपाईं हो भनेर कहिलेकाहीँ चर्चा गरेको, ताली खाएको, कहिलेकाहीँ माला नै लगाएको, हो कि क्या हो भनेको जस्तो पनि मैले पाएको छु,’ लामिछानेले भने । उनले पार्टीको औपचारिक निर्णयबिना कुनै व्यक्ति वा नेताले आफ्नो व्यक्तिगत इच्छाका आधारमा कसैलाई उम्मेदवार घोषणा गर्न नमिल्ने बताए ।

‘सभा, कार्यक्रममा बसेर, बिना आधार, बिना कारण, बिना निर्णय, आफ्नो मर्जीले उम्मेदवार तपाईं नै हो भनेर जजसले जहाँजहाँ भन्नुभएको छ, दिनुभएको छ, उपहार दिनुभएको छ । आजको दिनबाट ती सबै खारेज भएको जानकारी दिन चाहन्छु,’ उनले भने । लामिछानेले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित र पारदर्शी बनाउन क्यान्डिडेट क्लबमार्फत आवेदन खुला गरिएको जानकारीसमेत दिए । उनका अनुसार स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक व्यक्तिले क्यान्डिडेट क्लबमा आवेदन दिएर तोकिएको छनोट प्रक्रियाबाट अघि बढ्नुपर्नेछ । रास्वपाले क्यान्डिडेट क्लबमार्फत उम्मेदवार छनोटको प्रक्रिया अघि बढाएसँगै यसअघि विभिन्न क्षेत्रमा पार्टीका सम्भावित उम्मेदवारका रूपमा चर्चा गरिएका व्यक्तिहरूको उम्मेदवारीसम्बन्धी अन्योलसमेत अन्त्य हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्