Skip to content

जनताको अधिकारमाथि हमला भए सडकबाटै प्रतिवाद गर्नुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताका अधिकारमाथि हमला भइरहेकाले त्यसको प्रतिवाद गर्ने मुख्य जिम्मेवारी आफ्नो पार्टीको काँधमा आएको बताएका छन्। बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले पञ्चायती निरङ्कुशताविरुद्धदेखि निरङ्कुश राजतन्त्रविरोधी आन्दोलनसम्म पार्टीले नेतृत्व गरेको स्मरण गर्दै अहिले पनि प्रतिगामी शक्तिबाट अधिकारमाथि हमला भइरहेको दाबी गरे। ‘सबैले पाएका पहिचान र अधिकारमाथि पनि प्रतिक्रान्तिकारी, प्रतिगामी हमला भइराखेको छ। हाम्रा मजदुर, किसान र श्रमजीवी जनतामाथि राज्यकै तर्फबाट हमला भइराखेको छ,’ उनले भने, ‘त्यसको सामना गर्ने मुख्य जिम्मेवारी पनि अहिले इतिहासले हाम्रै काँधमा दिएको छ।’

जनताको अधिकारमाथिको हमला नरोकिए सडकबाटै प्रतिवाद गर्नुपर्ने अवस्था आउन सक्ने प्रचण्डले चेतावनी दिए। उनले लाखौँ क्रान्तिकारी कार्यकर्ता र नेताहरूको जमात रहेको पार्टी नेकपा नै भएको दाबीसमेत गरे। प्रचण्डले पुरानो पार्टी विघटन गरी नयाँ पार्टी निर्माणको पहल आफूहरूले नै गरेको भन्दै त्यसलाई पार्टीको इतिहासका रूपमा स्मरण गर्नुपर्ने बताए। ‘सबैभन्दा पहिला पुरानो पार्टीलाई विघटन गरेर नयाँ पार्टी निर्माणको पहल गर्ने हामी नै हौँ। यो एउटा इतिहास हो। यसलाई हामी कहिल्यै बिर्सिन सक्दैनौँ, बिर्सिन पनि हुँदैन,’ उनले भने।

गत भदौ २४ गतेको विध्वंसात्मक घटनापछि विचार, राजनीति र सङ्गठनका आधारभूत विषयमा समानता राख्ने शक्तिहरूबीच एकता आवश्यक रहेको निष्कर्षमा पुगेको पनि प्रचण्डले बताए। निर्वाचनका क्रममा पार्टी एकताको प्रक्रियामार्फत जनतामा नयाँ सन्देश दिने प्रयास गरिएको उनको भनाइ थियो। तर उक्त निर्वाचन सामान्य निर्वाचन नभएको दाबी गर्दै उनले त्यसलाई ‘२४ गतेकै प्रतिक्रान्तिको निरन्तरता’का रूपमा व्याख्या गरे। ‘हामीले निर्वाचनको क्रममा पार्टी एकताको प्रक्रियामार्फत जनतामा एउटा नयाँ सन्देश दिलाउने कोसिस गरेकै हो। तर यो निर्वाचन सामान्य निर्वाचन रहेन। यो २४ गतेकै प्रतिक्रान्तिको निरन्तरता भएको हुनाले यो निर्वाचन नियोजित निर्वाचनको रूपमा देखापर्‍यो,’ प्रचण्डले भने।

प्रतिक्रिया दिनुहोस्