Skip to content

मन्त्री र सांसदबीच बढ्दो असमझदारीबारे रास्वपाले आज अन्तर्क्रिया गर्दै

काठमाडौं – सरकारमा रहेका मन्त्री र पार्टीका सांसदहरूबीच पछिल्लो समय बढ्दै गएको असमझदारीबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज अन्तर्क्रिया गर्ने भएको छ । बुधबार बिहान ११ बजे संसदीय दलको कार्यालयमा हुने अन्तर्क्रियामा पार्टी सभापति रवि लामिछानेसहित मन्त्री तथा सांसदहरूको सहभागिता रहनेछ। बैठकमा पछिल्लो समय सरकार र पार्टीका सांसदबीच देखिएको असमझदारी तथा संसदीय गतिविधिको समीक्षा गरिने एक नेताले जानकारी दिए । उनका अनुसार संसदीय अनुशासनको विषयमा प्रश्न उठेका सांसदहरूलाई सचेत गराउने तयारीसमेत गरिएको छ। संसद्मा सांसदहरूले प्रयोग गर्ने भाषा, अभिव्यक्ति तथा सार्वजनिक गतिविधि मर्यादित हुनुपर्ने विषयमा बैठकमा विशेष छलफल हुने बताइएको छ ।

पछिल्लो समय रास्वपाभित्रै सांसदहरूको अभिव्यक्ति तथा गतिविधिलाई लिएर असमझदारी बढ्दै गएको नेताहरूको भनाइ छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा पनि यस्तै अवस्था देखिएको थियो । परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेपछि रास्वपा सांसद आशिका तामाङले पुनः प्रश्न गर्न खोजेकी थिइन्। तर सभामुख डीपी अर्यालले उनलाई संसदीय मर्यादा र सदनको गरिमालाई ध्यान दिन सचेत गराएका थिए ।

सभामुखले बोल्न समय नदिएपछि सांसद तामाङ बैठकबाट बाहिरिएकी थिइन् । उक्त घटनासमेतलाई लिएर रास्वपाले आजको अन्तर्क्रियामा समीक्षा गर्ने भएको हो । बैठकमार्फत पार्टीका सांसद र सरकारमा रहेका मन्त्रीबीच समन्वय बलियो बनाउने तथा संसद्मा प्रस्तुत हुने विषय र व्यवहारमा एकरूपता कायम गर्ने प्रयास गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्