Skip to content

सरल सहयात्री बागमतीको आर्थिक मामिला मन्त्री बन्दै

हेटौंडा – बागमती प्रदेशमा आज गठन हुन लागेको नयाँ सरकारमा नेकपाका नेता सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन् । सत्ता साझेदार दल नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच भएको मन्त्रालय बाँडफाँटको सहमतिअनुसार पौडेललाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो । नेकपाका नेता तथा पूर्वमन्त्री रत्नप्रसाद ढकालले सिन्धुपाल्चोकका पौडेललाई मन्त्री बनाउने निर्णय भएको जानकारी दिएका छन्। उनका अनुसार नेकपाले पाउने अर्को एक मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे भने औपचारिक निर्णय भइसकेको छैन ।

नेकपाभित्रबाट पूर्वयुवा तथा खेलकुद मन्त्री रमा आले मगरलाई दोस्रो मन्त्री बनाउने चर्चा छ। भागबण्डाअनुसार नेकपाले करिब एक वर्षदेखि रिक्त रहेको सभामुखसहित दुई मन्त्रालय पाउने सहमति भएको छ । सभामुख पदका लागि नेकपाका नेता तथा काभ्रेका रत्नप्रसाद ढकालको नाम चर्चामा छ। यद्यपि, ढकालले आफू सभामुख बन्ने विषयमा अन्तिम निर्णय भइनसकेको र छलफल जारी रहेको बताएका छन् । यसअघि राप्रपाबाट सभामुख बनेका भुवनकुमार पाठकले गत भदौमा जेनजी आन्दोलनका क्रममा पदबाट राजीनामा दिएपछि बागमती प्रदेशसभाको सभामुख पद रिक्त छ। हाल उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभा सञ्चालन गर्दै आएकी छन्। चापागाईंले उपसभामुखमा निरन्तरता पाउने भएकी छन् । यसैबीच, एमाले, नेकपा र राप्रपाबीच भएको मन्त्रालय बाँडफाँटमा समेत पुनः छलफलको माग उठेको छ। नेकपाले दाबी गरेको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा राप्रपाले पनि दाबी गरेपछि भागबण्डामा केही हेरफेर हुन सक्ने देखिएको छ ।

एमाले सांसद तथा प्रदेशसभाको उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठका अनुसार प्रारम्भिक सहमतिमा एमालेले मुख्यमन्त्रीसहित दुई, नेकपाले सभामुखसहित दुई र राप्रपाले तीन मन्त्रालय पाउने तय भएको थियो । सहमतिअनुसार एमालेले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय लिने तयारी गरेको छ। नेकपाले आर्थिक मामिला तथा योजना र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय पाउने सहमति भएको थियो । त्यस्तै, राप्रपाले स्वास्थ्य तथा सामाजिक विकास, कृषि, पशुपन्छी, वन तथा वातावरण र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय पाउने सहमति भएको बताइएको छ । बुधबार एमाले, नेकपा र राप्रपाका ६३ जना सांसदको समर्थनसहित एमालेका किरण थापा मगरलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गरिएको थियो । तर, राप्रपा बागमती प्रदेश संसदीय दलले सरकार गठनका लागि दिएको समर्थनलाई पार्टीको केन्द्रीय नेतृत्वले अनधिकृत भन्दै त्यसलाई मान्यता नदिन प्रदेश प्रमुखलाई बुधबार नै पत्राचार गरिसकेको छ।

यद्यपि, एमाले र नेकपाका नेताहरूले राप्रपाभित्रको आन्तरिक विवादले सरकार गठनमा समस्या नपर्ने दाबी गर्दै आएका छन्। सोहीअनुसार आज बिहीबार साँझ ४ बजेपछि मुख्यमन्त्री थापा मगरसहित मन्त्रीहरूको नियुक्ति तथा शपथ गराउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्