काठमाडौँ – नेकपा संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी तथा स्वकीय सचिव गंगा दाहालले आफू र आफ्नो परिवारमाथि लगाइएका आर्थिक अनियमिततासम्बन्धी आरोपप्रति आपत्ति जनाउँदै पुष्टि गर्न सार्वजनिक रूपमा चुनौती दिएकी छन् ।
फेसबुकमार्फत वक्तव्य सार्वजनिक गर्दै उनले केही समयअघि आफूहरूसँग दुबईमा ४० अर्ब रुपैयाँ रहेको, नेपालका ठूला घरजग्गा तथा भाटभटेनीलगायतका व्यवसायमा स्वामित्व रहेको भन्दै आरोप लगाइएको र अहिले त्यही आरोपको स्थानमा ५० करोड रुपैयाँको हल्ला फैलाउन खोजिएको दाबी गरेकी छन् । उनले आरोप लगाउनेहरूलाई ती दाबी पुष्टि गर्न चुनौती दिएकी छन् । राजनीतिक प्रतिशोध र विरोधी हुनुको पनि सीमा हुने भन्दै उनले यस्ता अपुष्ट आरोप किन र कुन उद्देश्यले फैलाइन्छन् भन्ने विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन् । दाहालले आफू र आफ्नो परिवार संविधान तथा कानुनबमोजिम हुने जुनसुकै निकायको कानुनी छानबिनका लागि तयार रहेको पनि उल्लेख गरेकी छन् । केही समयअघि नै सरकारसमक्ष सम्पत्ति विवरण बुझाइसकेको दाबी गर्दै उनले सरकारले गर्ने अनुसन्धानमा पूर्ण सहयोग गर्ने र गलत काम पुष्टि भए कानुनी कारबाही भोग्न तयार रहेको बताएकी छन् ।
आफूहरूबाट कुनै आर्थिक गलत गतिविधि वा पदको दुरुपयोग नभएको र भविष्यमा पनि त्यस्तो काम नगर्ने दाबी गर्दै दाहालले बिनाआधार लगाइएका आरोप भने स्वीकार्य नहुने चेतावनी दिएकी छन् । उनले समाज परिवर्तनको क्रान्तिमा होमिएको आफूहरूको बाल्यकाल असामान्य ढंगले बितेको र भोलिको बिहानीको आशासमेत नगरी अनेकौँ रातहरू बिताएका उल्लेख गर्दै भनेकी छन्, ‘हामीले आज सुन्नै नसकिने आरोप सार्वजनिक रूपमै सुन्नुपर्दा दु:ख लागेको छ र गम्भीर ध्यानाकर्षण पनि भएको छ । ‘हामी मृत्युको मुखबाट बाँचेर आएका हौँ । हामीलाई के गर्न हुन्छ, के गर्न हुँदैन, राम्रोसँग थाहा छ । हामी मृत्युवरण गर्छौं तर जनतालाई धोका दिन सक्दैनौँ यही नै हाम्रो स्कुलिङ हो’, गंगाले भनेकी छन्, ‘आफ्नो व्यक्तिगत जीवनसमेत नभनी मैले मेरो बुबालाई छोरीको नाताले सहयोग गर्नु नै मेरो अपराध हो त ?’



प्रतिक्रिया दिनुहोस्