काठमाडौं — नेकपा एमालेमा पार्टी सदस्यता नवीकरण गर्नेको संख्या उल्लेख्य रूपमा घटेको छ। देशव्यापी अभियानमा साउनसम्म ६ लाख ८६ हजार ७ सय ४८ सदस्य रहेकामा ३ लाख ५९ हजार अर्थात् करिब ५३ प्रतिशतले मात्रै सदस्यता नवीकरण गरेका छन् । नेताहरूका अनुसार जेन–जी आन्दोलनपछि नेतृत्वप्रति बढेको असन्तुष्टि, अवसर नपाएका कार्यकर्तालाई समेट्न नसक्नु र युवालाई पार्टीमा भविष्य देखाउन नसक्दा नवीकरण घटेको हो। राजनीतिशास्त्री कृष्ण पोखरेलले नेतृत्वको नीति र कार्यशैलीप्रति कार्यकर्ता निराश हुँदा सदस्यता नवीकरणमा असर परेको बताए । प्रदेशगत रूपमा सुदूरपश्चिममा सबैभन्दा कम २६.९४ प्रतिशत सदस्यले मात्र नवीकरण गरेका छन् । कोशीमा करिब ६२ हजार, मधेशमा ६० हजार, बागमतीमा ६६ हजार, गण्डकीमा ३० हजार ५ सय, लुम्बिनीमा ४२ हजार र कर्णालीमा करिब २८ हजारले नवीकरण गरेका छन् । एमाले महासचिव शंकर पोखरेलले पुराना र नयाँ सदस्यले पार्टीमा भविष्य देख्ने गरी पुनर्गठन आवश्यक रहेको बताएका छन् । संगठन विभाग प्रमुख भानुभक्त ढकालले भने प्रदेशबाट विवरण अद्यावधिक हुन बाँकी रहेकाले अन्तिम तथ्यांक आउन बाँकी रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्