काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र रहेका आन्तरिक मतभेद र असन्तुष्टिहरूलाई राजनीतिक संवादमार्फत समाधान गर्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई विशेष अपिल गरेका छन् । शुक्रबार अपिल जारी गर्दै महामन्त्री पौडेलले पार्टीका विवादहरू लिएर अदालत जाने वा सडकमा पोखिने कार्यले लोकतन्त्र र पार्टी दुवैलाई कमजोर बनाउने बताए । उनले सबै असन्तुष्ट पक्षहरूलाई पार्टीको केन्द्रीय कार्यालय सानेपा आएर छलफल गर्न र आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन आह्वान गरेका छन् ।
पछिल्लो समय नेपाली कांग्रेसका कतिपय आन्तरिक मुद्दाहरू कानुनी झमेलामा परिरहेको सन्दर्भलाई जोड्दै पौडेलले लेखेका छन्, ‘हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन । राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ । आफ्ना फरक विचार बोकेर पार्टीको साझा मन्दिर सानेपा आउनुहोस् ।’
मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पौडेलले अहिलेको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको संकेत गरेका छन् । प्रचण्ड बहुमतको सरकार भए पनि सत्तामा रहेकाहरूको गतिविधिले मुलुकलाई अनिश्चयको दिशामा लैजाने जोखिम रहेको उनको तर्क छ । ‘अहिलेको सरकारलाई खबरदारी पुगेन भने यसले देशलाई फर्कनै नसक्ने अनिश्चयको दिशामा लैजानेछ,’ अपिलमा उल्लेख छ । महामन्त्री पौडेलले पार्टीको आगामी १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिँदै नेतृत्व चयनको लोकतान्त्रिक प्रक्रियालाई स्वीकार गर्न सबैलाई आग्रह गरेका छन् । बीपी कोइरालाको विचार र अग्रजहरूको त्यागलाई स्मरण गर्दै उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मुलुकको समृद्धिका लागि कांग्रेस एकजुट हुनुपर्ने बताए । गत भदौ २३ र २४ गतेका घटनाक्रम र त्यसपछि विकसित परिस्थितिले मुलुक कठिन मोडमा पुगेको उल्लेख गर्दै पौडेलले कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै संकटमा पर्ने चेतावनी दिए । उनले लेखेका छन्, ‘हामी झगडिया वा रमिते भएर बस्दा देशले सही नेतृत्व पाउँदैन । त्यसैले सबै मतभेदलाई थाँती राखेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन अपिल गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्