काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशन अघि बढाउने निर्णयप्रति आपत्ति जनाउँदै संस्थापन पक्षलाई महाधिवेशन प्रक्रिया अघि नबढाउन अपिल गरेको छ । देउवा समूहका तर्फबाट १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा पार्टीको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउनु उचित नभएको उल्लेख गरिएको छ ।
विज्ञप्तिअनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवादमा शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको डिभिजन बेन्चको निर्णय/आदेशउपर पुनरावलोकन गरी पाऊँ भन्दै निवेदन दिएका थिए । उक्त मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासबाट पुनरावलोकनको अनुमति (निस्सा) समेत प्राप्त भइसकेको र मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको देउवा समूहको भनाइ छ । तर, यही अवस्थामा विशेष महाधिवेशनबाट गठित पक्षले १५औँ महाधिवेशन गर्ने निर्णय गरी कार्यतालिकासमेत सार्वजनिक गरेको भन्दै देउवा समूहले गम्भीर आपत्ति जनाएको हो । ‘सुदृढ, सबल र गतिशील कांग्रेसका लागि पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता नै अहिलेको आवश्यकता हो,’ विज्ञप्तिमा भनिएको छ, ‘कथित विशेष महाधिवेशनको कारण हाल केन्द्रीय कार्यसमिति समानान्तर रूपमा विभाजित रहेको छ ।’
विशेष महाधिवेशन पक्षले अधिवेशन वा महाधिवेशन अघि बढाए पार्टीका सबै तहमा संरचनागत विभाजनको प्रक्रिया सुरु हुने दाबी पनि देउवा समूहले गरेको छ । यस्तो विभाजनले आगामी स्थानीय तथा प्रदेशसभा सदस्यको निर्वाचनमा समेत पार्टीलाई नकारात्मक असर पार्ने उसको ठहर छ । देउवा समूहले विशेष महाधिवेशन पक्षबाट हुन लागेको भनिएको ‘अवैधानिक तथा विभाजनकारी’ अधिवेशन तथा महाधिवेशन आयोजना नगर्न र नगराउन आग्रह गरेको छ । त्यस्तै, त्यस्ता गतिविधिमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यहरूलाई समेत समितिले अपिल गरेको छ ।
यसअघि विशेष महाधिवेशन पक्षले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने निर्णय गर्दै कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसको प्रतिवादमा देउवा समूहले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दालाई आधार बनाउँदै महाधिवेशन प्रक्रिया तत्काल अघि नबढाउन दबाब दिएको हो । देउवा समूहका तर्फबाट जारी विज्ञप्तिमा पार्टीभित्रको विवादलाई थप गहिरो बनाउने गतिविधि रोक्न र सांगठनिक एकता कायम राख्न समेत अपिल गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्