दार्चुला – चर्चित फिल्म निर्देशक तथा कलाकार झरना थापा, निर्माता सुनिल थापासहितको फिल्म टोली दार्चुलाको अपिहिमाल गाउँपालिकामा पुगेको छ । टोलीले अपिहिमालका विभिन्न रमणीय तथा पर्यटकीय क्षेत्रमा फिल्म ‘ए मेरो हजुर ५’ को छायांकन गर्ने तयारी गरेको हो । अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहराका अनुसार फिल्मको छायांकनका लागि निर्माण टोलीले अपिहिमालका विभिन्न स्थानको अवलोकन तथा सम्भावित छायांकनस्थलको अध्ययन गरेको छ ।
उनका अनुसार निकट भविष्यमै अपिहिमाल गाउँपालिकाका विभिन्न आकर्षक स्थानमा ‘ए मेरो हजुर ५’ को छायांकन गरिनेछ । हिमाली भूगोल, प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र मौलिक जीवनशैलीलाई फिल्ममार्फत पर्दामा देखाउन सकिने भएकाले अपिहिमाललाई छायांकनका लागि उपयुक्त गन्तव्यका रूपमा लिइएको हो । गाउँपालिका अध्यक्ष बोहराले फिल्मको छायांकनले अपिहिमालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । फिल्ममा अपिहिमालका प्राकृतिक तथा पर्यटकीय क्षेत्र देखिएपछि देशभरका दर्शकसम्म यस क्षेत्रको परिचय पुग्ने र आगामी दिनमा पर्यटकको आगमन बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।
‘ए मेरो हजुर ५’ जस्तो चर्चित फिल्मको छायांकन अपिहिमालमा हुनु यस क्षेत्रका लागि पर्यटन प्रवर्द्धनको महत्वपूर्ण अवसर भएको अध्यक्ष बोहराको बुझाइ छ । अपिहिमाल प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, उच्च पहाडी भूगोल, मौलिक संस्कृति तथा ग्रामीण जीवनशैलीका कारण पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । फिल्मको छायांकनसँगै अपिहिमालका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय स्तरमा चिनाउन थप मद्दत पुग्ने अपेक्षा गरिएको छ । गाउँपालिकाले फिल्म निर्माण टोलीलाई आवश्यक समन्वय र सहजीकरण गर्ने जनाएको छ । स्थानीय स्तरमा हुने छायांकनले रोजगारी तथा स्थानीय व्यवसायमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्