काठमाडौं – नेसनल प्याब्सन मधेस प्रदेशको बृहत् भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उच्च शिक्षा छात्रवृत्ति, शिक्षा ऐन, शैक्षिक तालीम तथा संगठनका आगामी योजना लगायतका विषयमा व्यापक छलफल तथा अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा संविधान सभा सदस्य तथा नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष गीता क्षेत्री राणा प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन् । कार्यक्रममा मधेस प्रदेशका विभिन्न जिल्लाबाट नेसनल प्याब्सनसँग आबद्ध प्रतिनिधि तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो । अन्तरक्रियाका क्रममा निजी तथा संस्थागत विद्यालयका शैक्षिक चुनौती, विद्यार्थीका लागि उच्च शिक्षा छात्रवृत्तिको प्रभावकारी व्यवस्था, प्रस्तावित शिक्षा ऐन, शिक्षक तथा शैक्षिक जनशक्तिका लागि आवश्यक तालिम र संगठनलाई आगामी दिनमा थप प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ ।
कार्यक्रमले मधेस प्रदेशमा संस्थागत विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै विद्यार्थी, शिक्षक तथा विद्यालयका समग्र सवाललाई सम्बोधन गर्न थप सहकार्य र समन्वयको वातावरण निर्माण गरेको आयोजकले जनाएको छ । नेसनल प्याब्सनका निवर्तमान अध्यक्ष पाण्डव हमालले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै शिक्षा क्षेत्रका समसामयिक विषयमा सरोकारवालाबीच निरन्तर संवाद र सहकार्य आवश्यक रहेको बताए । उनले संगठनका आगामी योजना तथा शैक्षिक सुधारका विषयलाई प्राथमिकताका साथ अघि बढाइने जानकारी दिए । कार्यक्रममा सहभागीहरूले शिक्षा ऐन निर्माण तथा कार्यान्वयनमा निजी तथा संस्थागत विद्यालयका सरोकारलाई उचित स्थान दिनुपर्ने, उच्च शिक्षामा विद्यार्थीका लागि छात्रवृत्तिको पहुँच विस्तार गर्नुपर्ने तथा शिक्षकको क्षमता अभिवृद्धिका लागि नियमित शैक्षिक तालिम आवश्यक रहेकोमा जोड दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्