काठमाडौं – क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाले क्यानडाली वस्तुमा भारी भन्सार लगाएपछि त्यसको जवाफस्वरूप आगामी सेप्टेम्बर ८ देखि अमेरिकी वस्तुमा ‘डलर–फर–डलर’ अर्थात् समान मूल्यको प्रतिशोधात्मक भन्सार लगाउने घोषणा गरेका छन् ।शनिबार क्यानडाली नागरिकलाई सम्बोधन गर्दै कार्नीले अमेरिकाले करिब २० अर्ब डलर मूल्यका क्यानडाली वस्तुमा ५० प्रतिशतसम्म भन्सार लगाएपछि आफ्नो सरकारले केन्द्रित रूपमा प्रतिकार गर्ने बताएका हुन् । उनका अनुसार अमेरिकी स्टिल, दुग्धजन्य पदार्थ, घरेलु उपकरण, कृषि उपकरण, कागज तथा विद्युतीय सामग्रीलगायतका आयातमा समानस्तरको भन्सार लगाइनेछ । ‘क्यानडाली कामदार र उनीहरूका परिवारको सुरक्षा, अर्थतन्त्रको सुदृढीकरण र क्यानडाको सार्वभौमिकताको सम्मान हुने सम्झौता गर्न हामीले हरेक सम्भावना खोज्यौँ,’ कार्नीले भने, ‘हामी यो कदम बाध्यतावश चाल्दैछौँ।’
वार्ता असफल भएपछि क्यानडाको प्रतिशोध
अमेरिका र क्यानडाबीच पछिल्ला केही सातादेखि व्यापार करलाई लिएर तनाव बढ्दै आएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाईमा क्यानडाली वस्तुमा नयाँ कर लगाउने घोषणा गरेका थिए । दुवै देशका वार्ताकारले कर कार्यान्वयन रोक्न निरन्तर प्रयास गरे पनि अन्तिम समयसम्म कुनै व्यापार सम्झौता हुन सकेन । कार्नीले क्यानडाले वार्तामा ‘व्यावहारिक, धैर्यपूर्ण र निरन्तर’ प्रयास गरेको दाबी गरे। तर, अमेरिकाले ‘धेरै माग गरेको र निकै कम प्रस्ताव गरेको’ भन्दै वार्ता निष्कर्षमा पुग्न नसकेको उनको भनाइ छ ।
अमेरिकाले वार्ताको अन्तिम चरणमा नयाँ तथा अस्वीकार्य सर्त अघि सारेको आरोप पनि कार्नीले लगाए । विशेषगरी कार आयातसम्बन्धी सर्तमा अन्तिम समयमा परिवर्तन गर्नुका साथै क्यानडालाई अन्य मुलुकसँग नयाँ व्यापार सम्झौता गर्न प्रतिबन्ध लगाउने प्रयास गरिएको उनले दाबी गरे । ‘अमेरिकाले अन्तिम घडीमा हामीलाई अन्य देशसँग व्यापार सम्झौता गर्ने क्षमतामाथि प्रतिबन्ध लगाउने प्रयास गर्यो । यो स्वीकार्य छैन,’ उनले भने।
ट्रम्पको व्यापार नीतिको आलोचना
कार्नीले क्यानडामाथि भन्सार बढाउन अमेरिकाले प्रस्तुत गरेका कारणहरू पनि पटक–पटक परिवर्तन भएको आरोप लगाए। ट्रम्पले लागुऔषध तस्करी, टेलिभिजन विज्ञापन तथा क्यानडाबाट आएको डढेलोको धुवाँलगायतका विषयलाई अमेरिकी आयात कर बढाउने कारणका रूपमा प्रस्तुत गर्दै आएका छन् । ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेदेखि नै क्यानडामाथि आर्थिक दबाब बढाउँदै आएका छन्। अमेरिकाले आफ्ना व्यापार साझेदारसँग थप अनुकूल सम्झौता गराउन भन्सारलाई दबाबको साधनका रूपमा प्रयोग गर्दै आएको छ ।
कार्नीले अमेरिका र चीनजस्ता महाशक्तिको प्रभावलाई सन्तुलनमा राख्न विश्वका ‘मध्यम शक्तिहरू’ले सहकार्य गर्नुपर्ने धारणा पनि दोहोर्याए । ‘अमेरिकाबाट आउने आँधीलाई हामी नियन्त्रण गर्न सक्दैनौँ,’ उनले भने, ‘तर क्यानडालाई बलियो बनाउँदै र विदेशमा आफ्ना व्यापारिक सम्बन्ध विविधीकरण गर्दै हामी नयाँ बाटो तय गर्न सक्छौँ।’
अमेरिकाले पनि जवाफी कदम चाल्ने चेतावनी
अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले शनिबार फक्स न्युजसँग कुरा गर्दै क्यानडासँग तत्काल थप वार्ताको योजना नरहेको बताएका छन्। उनले क्यानडाले लगाउने प्रतिशोधात्मक करको जवाफमा अमेरिकाले पनि थप कदम चाल्ने चेतावनी दिएका छन् । यसअघि शुक्रबारसम्म भने अमेरिका र क्यानडाबीच व्यापार सम्झौताको सम्भावना देखिएको थियो। राष्ट्रपति ट्रम्पले समेत क्यानडासँगको सम्झौता अघि बढिरहेको बताएका थिए । अमेरिकी प्रस्तावमा क्यानडाले आफ्ना दुग्ध तथा काठ बजार अमेरिकी व्यवसायका लागि थप खुला गरेमा आल्मुनियम, कार र स्टिलमा लगाइएको कर घटाउने विकल्प रहेको रिपोर्टहरू सार्वजनिक भएका थिए । अमेरिका र क्यानडा लामो समयदेखि घनिष्ठ सहयोगी तथा एकअर्काका प्रमुख व्यापारिक साझेदार रहँदै आएका छन्। पछिल्लो व्यापार विवादले भने दुई देशबीचको सम्बन्धमा थप तनाव उत्पन्न गरेको छ । कार्नीले अमेरिकी नीतिका कारण अमेरिका र क्यानडाबीचको साझेदारी तथा प्रतिस्पर्धाबीचको दूरी पछिल्ला दिनमा बढ्दै गएको बताएका छन् । एक पत्रकारले कार्नीको गम्भीर अभिव्यक्तिबारे प्रश्न गर्दै ‘आज मार्क कार्नी व्यापार युद्धमा जान लागेको जस्तो किन महसुस भइरहेको छ ?’ भनेर सोधेका थिए । कार्नीले संक्षिप्त जवाफ दिए, ‘तपाईंमाथि आक्रमण भएपछि तपाईं युद्धमा हुनुहुन्छ । हामीमाथि आक्रमण भएको छ।’
अल जजिराको रिपोर्टमा आधारित।



प्रतिक्रिया दिनुहोस्