Skip to content

राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न सभापति गगन थापाको माग

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा सभापति थापाले विपद्को यस घडीमा भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय एवं आसपासका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरे । उनले स्थिति गम्भीर रहेकाले सरकारलाई राज्यको सम्पूर्ण संयन्त्र परिचालन गर्न र सबै तहका सरकारसँग समन्वय गरेर उद्धार एवं राहत कार्यमा केन्द्रित हुन अनुरोध गरे।

विपद् व्यवस्थापनका लागि सरकारले गर्ने हरेक प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे। सभापति थापाले कांग्रेसका सम्पूर्ण समितिहरू, विशेष गरी रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका पार्टी नेतृत्व एवं सदस्यहरूलाई तत्काल कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन्। तटीय क्षेत्रमा बसोबास गर्ने परिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, उद्धार कार्यमा सघाउन र राहत वितरणमा तुरुन्त जुट्न उनले पार्टीका साथीहरूलाई अपिल गरे। ‘विपद्को यो समयमा नागरिकको सुरक्षा नै हाम्रो मुख्य प्राथमिकता हुनुपर्छ, थापाले भने।

प्रतिक्रिया दिनुहोस्