काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं जिल्ला समितिले भोटेकोशी नदीमा आएको अविरल वर्षासँगैको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खालगायत जिल्लामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिका अध्यक्ष अमृत कुमार खड्काले जारी गरेको प्रेस विज्ञप्तिमार्फत बाढी तथा पहिरोमा परी ज्यान गुमाउने नेपाली तथा विदेशी नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।विज्ञप्तिमा बाढी तथा पहिरोमा बेपत्ता नागरिकको तत्काल खोज तथा उद्धार, घाइतेको शीघ्र र प्रभावकारी उपचार तथा प्रभावित परिवारलाई राहत, सुरक्षित बसोबास र पुनःस्थापनाको व्यवस्था गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरिएको छ । बाढीका कारण विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारसमेत प्रभावित हुनुका साथै कतिपय विद्यालय तथा शैक्षिक संरचनामा क्षति पुगेकोप्रति नेशनल प्याब्सनले विशेष चिन्ता व्यक्त गरेको छ। विद्यालय भौतिक संरचना मात्र नभई बालबालिकाको भविष्य निर्माण गर्ने सुरक्षित र संवेदनशील थलो भएकाले प्रभावित विद्यालयमा शैक्षिक गतिविधि पुनः सञ्चालन गर्न आवश्यक सहयोग र समन्वय गर्न प्रतिबद्ध रहेको समितिले जनाएको छ ।
त्यस्तै, देशका विभिन्न स्थानबाट भ्रमणमा गएका स्वदेशी तथा विदेशी पर्यटकसमेत विपद्मा प्रभावित भएको घटनाप्रति दुःख व्यक्त गर्दै नेपाल भ्रमणका क्रममा ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकप्रति श्रद्धाञ्जली र उनीहरूका परिवार तथा समुदायप्रति समवेदना प्रकट गरिएको छ । विपद्को कठिन घडीमा प्रभावित परिवार, विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय, स्थानीय बासिन्दा तथा स्वदेशी–विदेशी नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग र समन्वयका लागि नेशनल प्याब्सन काठमाडौं जिल्ला समिति ऐक्यबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ । समितिले सरकार, स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था, विद्यालय समुदाय तथा नागरिक समाजलाई एकताबद्ध भएर उद्धार, राहत तथा पुनःस्थापनामा हरसम्भव सहयोग गर्न आह्वान गरेको छ ।
प्रभावित विद्यालय तथा विद्यालय परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन नेशनल प्याब्सनका केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय समितिसँग समन्वय गरी आवश्यक पहल गर्ने अध्यक्ष खड्काले बताएका छन् । समितिले विपद्को अवस्थामा सबैलाई सतर्क र सुरक्षित रहन तथा विपद्मा परेकालाई सहयोग गर्न हातेमालो गर्नसमेत आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्