Skip to content

विपद्को समयमा सरकारलाई पूर्ण सहयोग गर्छौँ : कांग्रेस सभापति थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले प्राकृतिक विपत्तिका बेला सरकारलाई पूर्ण सहयोग गर्ने पार्टीको नीति रहेको बताएका छन् । कांग्रेस पार्टी कार्यालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा बोल्दै थापाले संकटको समयमा सरकारले नै नेतृत्व गर्नुपर्ने र कांग्रेसले त्यसलाई केन्द्रमा राखेर सहयोग गर्ने बताएका हुन् । थापाले राहत तथा उद्धार कार्यमा देखिएका कमजोरी औँल्याउनु सरकारको आलोचना नभई सहयोगको एउटा स्वरूप भएको बताए । उनले उद्धार तथा राहतमा कहाँ कमी छ र कहाँ काम हुन सकेको छैन भन्ने विषय पहिचान गरेर सरकारलाई जानकारी गराउनुपर्ने धारणा राखे ।

‘कहाँ ग्याप छ, कहाँ काम हुन सकेको छैन भनेर औँल्याउनु आलोचना होइन, सरकारलाई सहयोग पुर्‍याउनु हो,’ थापाले भने । बैठकमा थापाले कांग्रेसका केन्द्रीय सदस्य, सांसद तथा देशभरका निर्वाचित जनप्रतिनिधिहरूलाई स्वेच्छिक रूपमा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आह्वान गरेका छन् । पार्टीका विभिन्न तहका समितिबाट सङ्कलित रकम एकमुष्ट रूपमा प्रधानमन्त्री राहत कोषमा बुझाउने तयारी रहेको उनले जानकारी दिए । राहत वितरणमा दोहोरोपन नहोस् भन्ने उद्देश्यले पार्टीका तर्फबाट सङ्कलित रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको थापाले बताए ।

यसैगरी, जटिल भौगोलिक क्षेत्र तथा सुरुङमा फसेकाहरूको उद्धारका लागि नेपालसँग पर्याप्त विज्ञता वा स्रोतसाधन नभए बाह्य सहयोग लिन संकोच गर्न नहुने थापाले बताए । नागरिकको ज्यान जोगाउन आवश्यक परे बाहिरबाट विशेषज्ञ तथा सहयोग लिनुपर्ने उनको भनाइ छ । ‘हामीसँग भएको स्रोतले मात्र पुग्दैन भने बाहिरको मद्दत लिएर भए पनि नागरिकको ज्यान जोगाउनुपर्छ,’ थापाले भने । यस विषयमा आफूले परराष्ट्रमन्त्रीसँग समेत कुराकानी गरिसकेको उनले जानकारी दिए । सभापति थापाले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका निर्णायक हुनेसमेत बताए । संघीय सरकारले स्थानीय सरकारसँग पर्याप्त समन्वय गर्नुपर्नेमा जोड दिँदै उनले स्थानीय तहलाई बाइपास गरेर विपद्को सामना गर्न नसकिने बताए । ‘स्थानीय सरकारलाई बाइपास गरेर विपद्को सामना गर्न सकिँदैन । उनीहरूलाई नै सक्रिय र जिम्मेवार बनाउनुपर्छ,’ थापाले भने ।

थापाले आफू भोलि बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा जाने र त्यहाँको अवस्था बुझेर थप राहत तथा उद्धारका लागि पहल गर्ने जानकारी दिएका छन् । बैठकमा नुवाकोट, रसुवा र धादिङका नेता तथा कार्यकर्ताहरूले सम्बन्धित क्षेत्रमा विपद्का कारण उत्पन्न अवस्था, उद्धार तथा राहतको अवस्थाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्