काठमाडौँ – कञ्चनपुरको महेन्द्रनगरस्थित उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि २ लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्द र अध्यक्ष नारा जोशीले संयुक्त रूपमा जारी गरेको अपिलमार्फत बाढी प्रभावित नागरिकका लागि उक्त रकम सहयोग गर्ने प्रतिबद्धता जनाइएको हो । सहकारीले गत भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । बाढी तथा प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेप्रति संस्थाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्यमा जुट्न सम्बन्धित सबैमा अपिल गरेको छ ।
‘विपद् कसैको एक्लो समस्या होइन, यो हामी सबैको साझा जिम्मेवारी हो,’ सहकारीको अपिलमा भनिएको छ । प्रभावित नागरिकको तत्कालीन आवश्यकता र कठिनाइलाई मध्यनजर गर्दै राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग घोषणा गरिएको संस्थाले जनाएको छ । सुदूरपश्चिम प्रदेशलाई कार्यक्षेत्र बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको उदयदेव बहुउद्देश्यीय सहकारीले व्यवसायिक गतिविधिसँगै विभिन्न सामाजिक कार्यमा समेत सहयोग गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको आवश्यकताअनुसार सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता संस्थाले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्