Skip to content

राहत वितरणमा गृहमन्त्री निकट ‘हामी नेपाल’लाई मात्रै प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति

काठमाडौं –  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित नागरिकका लागि संकलित राहत सामग्री वितरणमा गृहमन्त्री सुधन गुरुङनिकट संस्था ‘हामी नेपाल’लाई मात्रै प्राथमिकता दिइएको भन्दै आपत्ति जनाएका छन्।

शनिबार प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटवार्ताका क्रममा आङ्देम्बेले राहत सामग्री वितरणमा राज्यले चिनेका स्थानीय निकाय, जिल्ला प्रशासन तथा अन्य संघसंस्थालाई समेत सहभागी गराउनुपर्ने बताएका हुन्। आङ्देम्बेको सचिवालयका अनुसार उनले राहत प्रभावित क्षेत्रमा छिटो पुर्‍याउनुपर्नेमा जोड दिएका थिए । ‘सरकारले चिनेको वा सरकारमा बसेका कोही सदस्यको नजिकको संस्था (हामी नेपाल) ले मात्रै राहत सामग्री पाएको गुनासो छ,’ बैठकमा आङ्देम्बेले भनेका थिए, ‘यदि त्यस्तो हो भने राहत पुग्नुपर्ने ठाउँमा छिटो नपुगेर भोलि मान्छे मरिसकेपछि राहत पुग्नुको कुनै अर्थ हुँदैन।’

उनले स्थानीय तह, जिल्ला प्रशासन र राज्यले चिनेका संघसंस्थामार्फत राहत वितरणको व्यवस्था मिलाउन प्रधानमन्त्री शाहसँग आग्रह गरे । आङ्देम्बेले रसुवामा पर्याप्त राहत सामग्री नपुगेको गुनासो आएको पनि बताए। नुवाकोटको विदुरमा राहत सामग्री थुप्रिएको अवस्थामा बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवामा राहत नपुग्नु गम्भीर विषय भएको उनको भनाइ थियो  । उनले विपद्का बेला नेपाली कांग्रेस पनि राजनीतिक प्रचारभन्दा विशुद्ध मानवीय सेवामा केन्द्रित हुनुपर्ने बताए। नेपाल तरुण दललगायत पार्टीका भ्रातृ संस्थालाई पार्टीको झण्डा बोकेर राहत वितरण नगर्न निर्देशन दिइएको समेत उनले जानकारी दिए । भेटवार्तामा आङ्देम्बेले भोटेकोशी र त्रिशूली बाढीका कारण पुल तथा आवतजावतका संरचना बगेका स्थानमा तत्कालका लागि तुइनको व्यवस्था गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । त्यस्तै, बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय टोलीलाई समेत तत्काल उद्धारमा खटिन अनुमति दिन प्रधानमन्त्री शाहसँग माग गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्