काठमाडौं – नेपाली कांग्रेसले बाढी तथा विपद् प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता चालिसेले सरकारले राहत तथा उद्धारका कार्यलाई थप तीव्रता दिनुपर्ने बताए। विशेषगरी सुरुङमा फसेका नागरिकको उद्धारका लागि तत्काल प्रभावकारी प्रयास गर्नुपर्ने उनको भनाइ छ ।
उनले खोज तथा उद्धार कार्यलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै सरकारको क्षमता पर्याप्त नभए अन्तर्राष्ट्रियस्तरका विज्ञको सहयोग लिनुपर्ने बताए । “सरकारले राहत तथा उद्धारका कार्यलाई तीव्रता दिनु आवश्यक छ। सुरुङमा फसेका नागरिकको उद्धारका लागि चाँडोभन्दा चाँडो प्रयास गर्दै तीव्रता दिनुपर्ने आवश्यकता छ। खोज तथा उद्धार परिणाममा केन्द्रित हुनुपर्छ। हाम्रो क्षमताले भ्याएन भने अन्तर्राष्ट्रियस्तरका विज्ञहरूको पनि सहयोग लिनुपर्छ,” उनले भने । प्रवक्ता चालिसेले राहत वितरणलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिनुपर्ने बताए। पीडित नागरिकसम्म तत्काल राहत पुर्याउन सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ । उनले विभिन्न जिल्लाबाट पर्यटन तथा व्यावसायिक प्रयोजनका लागि रसुवा र नुवाकोट पुगेका नागरिकसमेत बाढीबाट प्रभावित भएको उल्लेख गर्दै उनीहरूको खोजी तथा सुरक्षामा विशेष ध्यान दिन सरकारसँग आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्