काठमाडौं – इरानका सर्वोच्च नेता मोज्तबा खमेनीले खाडी क्षेत्रका मुलुकसहित सबै मुस्लिम देशलाई ‘वास्तविक शत्रु’ विरुद्ध एकजुट हुन आह्वान गरेका छन् । अमेरिकाले इरानको अर्थतन्त्रलाई कमजोर बनाउने उद्देश्यसहित व्यापक आर्थिक प्रतिबन्ध घोषणा गरेको एक सातापछि खमेनीको यस्तो आह्वान आएको हो । मोहम्मद पैगम्बरको जन्मजयन्तीका अवसरमा मनाइने ‘इस्लामिक एकता सप्ताह’का लागि आफ्नो टेलिग्राम खातामार्फत सन्देश जारी गर्दै खमेनीले मुस्लिम समुदायबीचको विभाजनले उनीहरूका प्रतिपक्षीको हित पूरा गरिरहेको बताएका छन् । समाचार संस्था रोयटर्सका अनुसार खमेनीले मुस्लिम देशबीच एकता, विभिन्न क्षेत्रमा सहकार्य तथा आपसी सुरक्षाका लागि मिलेर काम गर्न आह्वान गरेका छन् । उनले जानेर वा नजानेर मुस्लिम समुदायबीच विभाजन सिर्जना गर्ने जोसुकैले इस्लामका शत्रुलाई सहयोग पुर्याउने बताएका छन्।
‘यदि मुस्लिमहरू एकजुट भएका भए के प्यालेस्टिनीहरूलाई यसरी लाचार छाडिने थियो?’ भन्दै खमेनीले प्रश्नसमेत गरेका छन् । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि लगाएको कडा आर्थिक नाकाबन्दी कार्यान्वयनमा सहयोग गर्ने मुलुक तथा पक्षलाई इरानले शत्रुको रूपमा लिने चेतावनी दिएको थियो । त्यसको केही समयपछि खमेनीले मुस्लिम देशबीच एकताको आह्वान गर्दै इरानको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चुनौती सामना गर्न सामूहिक सहकार्य आवश्यक रहेको सन्देश दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्