Skip to content

होर्मुजनजिक इरानी टापुमा अमेरिकी हमला, जुलाईयता यो पहिलो ज्ञात कारबाही भएको ट्रम्पको दाबी

काठमाडौँ – अमेरिकाले इरानको लाराक द्वीपमा रहेका दुईवटा क्षेप्यास्त्र प्रक्षेपण प्रणालीलाई लक्षित गरी हमला गरेको अमेरिकी अधिकारीले बताएका छन् । जुलाईको अन्त्ययता इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात सैन्य कारबाही हो । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का प्रवक्ता कमान्डर टिम हकिन्सका अनुसार इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) का सैन्य अधिकारीहरूले स्ट्रेट अफ होर्मुजमा समुद्री माइनसहित रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि कारबाही गरिएको हो ।

आईआरजीसीले आइतबार भएको अमेरिकी हमलामा केही मानिसको मृत्यु तथा घाइते भएको जनाएको छ । उसले घटनाको ‘जवाफ र दण्ड’ दिने चेतावनीसमेत दिएको बीबीसीले जनाएकाे छ । त्यसको केही घण्टापछि इरानी सरकारी सञ्चारमाध्यमले आईआरजीसीलाई उद्धृत गर्दै लाराक द्वीपमा भएको हमलाको जवाफस्वरूप जोर्डनस्थित अमेरिकी सैन्य आधारहरूमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ । आईआरजीसीका अनुसार जोर्डनका किङ हुसेन र अल–अज्राकस्थित अमेरिकी सैन्य आधारलाई लक्षित गरिएको थियो । आक्रमणबाट ‘ठूलो क्षति’ पुगेको र प्राविधिक पूर्वाधार, मर्मतसम्भार केन्द्र तथा अमेरिकी लडाकु विमान तैनाथ हुने स्थानलाई निशाना बनाइएको दाबी गरिएको छ । जोर्डनको सेनाले भने आफ्नो हवाई प्रतिरक्षा प्रणालीले सोमबार बिहान देशको आकाशमा प्रवेश गरेका आठवटा क्षेप्यास्त्रलाई रोकेको जनाएको छ । सरकारी समाचार संस्था पेट्रा न्युज एजेन्सीका अनुसार जोर्डनका सशस्त्र बलले जारी गरेको विज्ञप्तिमा आठ क्षेप्यास्त्रलाई निष्क्रिय पारिएको उल्लेख छ । अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले जुलाईको अन्त्यमा पुनः तीव्र बनाइएको सैन्य अभियान रोकपछि इरानमाथि अमेरिकाले गरेको यो पहिलो ज्ञात हमला हो ।

प्रतिक्रिया दिनुहोस्