चितवन – रसुवामा आएको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा फेला परेका सनाखत हुन नसकेका १९९ शवको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिका–१ स्थित देवघाटको जङ्गल क्षेत्रमा ती शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार हालसम्म चितवनमा २७२ शव फेला परेका छन्। तीमध्ये १२ जनाको सनाखत भएको छ भने १९९ शवको व्यवस्थापन गरिएको छ । सनाखत हुन नसकेका शवबाट डिएनए नमुना सुरक्षित राखेर जङ्गलमा व्यवस्थापन गरिएको पौडेलले बताए। व्यवस्थापन गरिएका शवको पहिचान खुल्न सक्ने गरी सङ्केत चिह्नसमेत राखिएको छ ।
बेपत्ता व्यक्तिका परिवारसँग गरिएको डिएनए परीक्षण मिलेको अवस्थामा सम्बन्धित शवको पहिचान गरी व्यवस्थापन गरिएको स्थानबाट परिवारलाई बुझाउन सकिने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। सनाखत भएका शव भने पोस्टमार्टमपछि सम्बन्धित परिवारले बुझेर लगेका छन् । प्रहरीका अनुसार चितवनमा हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, ७ बालक, ६ बालिका र ८७ वटा मानव अवशेष रहेका छन् । नदी किनारमा शव फेला पर्ने क्रम अझै जारी रहेकाले खोजी तथा व्यवस्थापनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्